शिवसताक्षीका उद्यमी महिलाहरुको स्थानीय उत्पादन विक्री सुरु
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा ६ नं. मा महिलाहरुले उत्पादन गरेको सामग्री विक्री वितरणका लागि शुक्रवारबाट खुल्ला गरिएको छ ।
वडा नं. ६ को क्याम्पस रोडमा शिवगञ्ज उद्यमी महिला समूहले उत्पादन गरेको सामग्री विक्री वितरणका लागि खुल्ला गरिएको हो । समूहले सामाग्री बेचविखनका लागि पसल उद्घाटन गर्दै सर्वसुलभ मूल्यमा आफुले उत्पादन गरेको सामग्रीहरु विक्री वितरण सुरु गरेको जनाएको छ ।
पसलको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष मनोज खुलाललगायतले गरेका छन् ।
उद्घाटनका क्रममा बोल्नु हुदै नगरप्रमुख थोप्राले महिलाहरुले आत्मनिर्भर भएर यसरी उद्योग सञ्चालन गरेकोमा उद्यमी महिला समूहलाई धन्यवाद दिए । नगरपालिका, वडा कार्यलायले गरेको लगानीले सार्थकता पाएको छ । यहाँका महिला दिदीबहिनीहरु उद्यमी बन्नुभएको छ । उनले भने, यो एउटा उदारणीय काम भएको हो । नगर प्रमुखले स्थानीय उत्पादनलाई प्राथमिकताला शिवगञ्जका महिला उद्यमीले व्यावसायिक रूपमा सिलाएको टिसर्ट खरिद गरेका थिए ।
कार्यक्रममा वडा नं. ६ वडाध्यक्ष मनोज खुलाल कार्की सबै वडाबासीलाई स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
हाल विक्री वितरणका लागि पेन्ट, टिसर्ट, जामा, भोटो, कुर्था सुरुवाल, ब्लाउज लगायतका वस्तु बिक्रीका लागि बजारमा खुल्ला गरिएको हो । महिलाहरुलाई उद्यमी बनाउन अघिल्लो आर्थिक वर्षमा विभिन्न सीप मुलक कार्यक्रम वडामा सञ्चालन गरिएको वडा सदस्य गोमा रिजालले बताइन् । उनले घरेलु तथा साना उद्योग पनि आफ्नै पहलमा महिलाहरुलाई तालिमको व्यवस्था गरिदिएको जानकारी दिइन् । शिवसताक्षी नगरपालिकाले पनि विभिन्न समयमा महिला लक्षित कार्यक्रमहरु वडा नं. ६ मा सञ्चालन गर्दै आएको छ । उनले आर्थिक वर्ष २०८०-८१ मा वडाले उद्यमी महिलाहरुलाई वडाले प्रविधि हस्तान्तरण गरेको बताइन् ।
हाल पसल सञ्चालनका लागि शिवगञ्ज महिला उद्यमी समूहले लगानी गरेको छ । कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, कार्यपालिका सदस्य यसोदा विमली लगायतको उपस्थिति रहेको थियो ।