महानन्द चोक घटना : छुटकारा खोज्दाखोज्दै मनिसाको हत्या
बिर्तामोड । झापाको अर्जुनधारा–६ महानन्द चोकमा शुक्रवार साँझ भएको हत्या योजनावद्ध भएको अनुसन्धानबाट खुलेको छ । हत्या गर्ने नियतले नै युवक छुरा बोकेर पुगेको अनुसन्धाबाट खुलेको हो ।
हत्यामा संलग्न कैलाली घर भएको भनिएका २० वर्षीय अनिल विकले पच्छ्यार हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । केही महिनादेखि अनिल र फिक्कलकी मनिसा लोहारबीच बोलचाल भइरहेको थियोे । लोहार बिर्तामोडको एक मेनपावरमा कार्यरत थिइन् ।
काम सकेर भाटभटेनी घुमेरी फर्किएका उनीहरुलाई अनिलले बाटोमा भेटेका थिए । उनले आफु अटोमा बसेर मनिसा र मनिसाको साथीलाईसँगै लिएर शनिश्चरे रोडतिर लागेका थिए । अटोमा बसेर अनिलले मनिसाको मोवाइल मागेका थिए । मनिसाले मोवाइल नदिएपछि खोस्ने प्रयास गरेका थिए । के कुरा हो कोठामा गएर कुरा गर्नु, बाटोमा झगडा नगर्नु भन्दै पन्साएकी थिइन्, सँगै भएकी साथीले प्रहरीलाई बयानका क्रममा भनेकी छन् ।
सोही क्रममा अनिलले मनिसाको साथीको मोवाइल खोसेका थिए । साथीको मोवाइल फिर्ता गर्न मनिसालाई उनको मोवाइल दिनुपर्ने विवाद चलेको थियो । मोवाइल खोसेपछि मनिसाको साथीले आफन्त पर्नेलाई महानन्द चोकमा जानकारी गराउन जाँदा अनिलले तीन ठाउँमा मनिसालाई छुरा प्रहार गरेर हत्या गरेका थिए ।
केही दिनअघि साथीलाई मनिसाले भनेकी थिइन्, ‘एउटा अनिल भन्ने केटाले धेरै दुख दियो । कसरी छुटकारा पाउने होला ।’ छुटकाराको उपाय खोजिरहेकी मनिसाले अन्ततः उनैको हातबाट मृत्यु व्यहोर्नुपरेको छ ।