नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा : मन्त्री दाहाल
काठमाडौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ ।
प्रविधिको उपयोगबाट प्रगती र समृद्धीको यात्रा सहज बनाउन सकिने भन्दै उहाँले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक उर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको पनि उहाँले उल्लेख गर्नु भयो । ईन्जिनियरीङ् अध्ययन संस्थान, पुलचोक कलेजले विकास गरेको पेट्रोल र हाईड्रोजनबाट चल्ने गाडीको सोमबार शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले यस्ता प्रविधिको विकास र प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि मन्त्रालय अग्रसर रहेको समेत बताउनुभयो ।
औद्योगीक मुलुकहरु कारण विश्वव्यापी रुपमा बढि रहेको कार्वन उत्सर्जनको मार नेपाल जस्ता मुलुकहरुमा समेत पर्दा हिमाल देखि समुद्रसम्म प्रदुषणको मार परि रहेको दहालको भनाई छ । यस्ता विश्वव्यापी चुनौतीहरुको सामना गर्न नेपाल पनि तयार रहनु पर्ने भन्दै उहाँले वातावरणमैत्री र नविकरणीय ईन्धनको प्रवद्र्धनमा जोड दिन जरुरी रहेको पनि बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाईड्रोजन नेपालले प्राकृतिक रुपबाटनै प्राप्त गर्न सक्ने भएकाले औद्योगीक उत्पादन र उपयोगका लागि कानूनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । पेट्रोल र हाईड्रोजनको ‘कम्बस्टन ईन्जिन’ निर्माणको नेतृत्व गर्नु भएका डा। प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको ईन्जिनलाई हाईड्रोजन उपयोग गरि पेट्रोलको खपत कम गराउने ईन्जिन पहिलो पटक नमूनाका रुपमा बनाईएको बताउनु भयो । यो प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भएर थन्किएका सयौ सवारी साधनहरुलाई पुनः प्रयोगमा ल्याउन सकिने बताउनुभयो ।
सोहि कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरि ईन्जिन रुपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापा समेत सवार भई संक्षिप्त यात्रा समेत गर्नु भएको थियो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, हाईड्रोजन विज्ञ लगायतको सहभागीता रहेको थियो भने क्याम्पस प्रमुख डा। ईन्द्रप्रसाद आचार्य, सहायक डिन चिन्तामणि पोखरेल लगायतले नेपली प्राविधिक र प्रविधिलाई प्रोत्साहनको खाँचो रहेको बताउनु भएको थियो ।