‘विक्रम देवा’ मा मेचे संस्कृति, असोज १४ मा च्यारिटी शो
बिर्तामोड । मेचे संस्कृतिमा आधारित चलचित्र ‘विक्रम देवा’को फर्स्टलुक पोस्टर बिर्तामोडमा बिहीबार सार्वजनिक गरिएको छ । फिल्मको च्यारिटी शो बारे जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा लोपोन्मुख जाति मेचे संस्कृतिमा आधारित पहिलो ठूलो पर्दाको फिल्म रहेको निर्माण टिमले जनाएको छ ।
जय भोले बाबा फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘विक्रम देवा’को च्यारिटी शो यही असोज १४ गते बिर्तामोडस्थित सिने प्लाजामा गरिने भएको छ । चलचित्रका निर्माता तथा कलाकार प्रताप मेचेले च्यारिटी शोमा सहभागी भई मेचे संस्कृतिलाई बुझिदिन आग्रह समेत गरेका छन् । चलचित्र निर्माता अर्जुन मेचेका अनुसार फिल्ममा ३० प्रतिशत मेचे भाषा र बाँकी ७० प्रतिशत नेपाली भाषामा रहेकाले फिल्म जो कसैले बुझ्ने गरी बनाइएको छ ।
‘विक्रम देवा’ बनाउनुको उद्देश्य मेचे कल्चरलाई चिनाउन रहेको बताउँदै लेखक तथा निर्देशक कुमार केसी भन्छन्, ‘मेचे समुदायको कल्चरसँगै फिल्ममा दुई साथीबीचको मित्रतालाई दर्शकले हेर्न पाउनुहुनेछ ।’ चलचित्रको लागत १ करोड २० लाख रहेको निर्माण टिमले जनाएको छ । सुनिल थापा, सुवास मेचे, प्रताप मेचेको मुख्य अभिनय रहेको चलचित्रमा पुकार भट्टराई, रोहन सेन्च्युरी, उर्मिला कार्की, भावना मगर, सकिला गुरुङ, विपिन प्रसाईं, रविन मेचे, सत्यम मेचे लगायतको अभिनय रहेको छ ।
चलचित्रमा सहायक निर्देशकका रुपमा निशान जेन तामाङ, द्वन्द्व निर्देशक सन्तोष भुजेल, छायाँकन विक्रम डिसी र सम्पादन बन्दे प्रसादको रहेको छ । त्यस्तै चलचित्रमा दिपक लिम्बू, मेलिना राईको स्वरमा गीतहरु रहेका छन् । पत्रकार सम्मेलनको सहजीकरण पवन मेचेले गरेका थिए । चलचित्र इलाम र झापाका विभिन्न स्थलहरुमा छायाङ्कन गरिएको बताइएको छ ।