बैशाख २४, २०८२ बुधबार

माग्दै हिड्न बाध्य नबनाऔं

सम्पादकीय

झापाको बिर्तामोडमा ०७४ साल कार्तिकमा प्रहरीको गोली लागेर घाइते मणि नेपाली अहिले गाउँ शहरका पसलहरुमा पैसा माग्दै गरेको अवस्थामा भेटिन थालेका छन् । पैसा माग्ने उनको बाध्यता हो । प्रहरीको गोली लागेपछि दैनिक मजदुरी गरेर जीवन चलाउने नेपाली पैसा मागेर गुजारा चलाउने ठाउँमा पुगेका छन् । गुजारा चलाउन श्रीमतीले गर्ने मजदुरीले पुग्न सक्छ । उपचारका लागि पैसा माग्नै पर्ने बाध्यता नेपालीलाई आइलागेको छ । बिर्तामोडमा लक्ष्मण शिवाकोटी काण्डमा प्रहरीको गोली लागेर घाइते नेपाली अहिले विहान बेलुकाको छाक टार्न र उपचारका लागि माग्दै हिडेको भेटिन्छन् ।

प्रहरीको गोली लागेर उनको देब्रे हात चल्दैन । कोखबाट छिरेको गोलीले उनको पेट समेतको अवस्था दर्दनाक छ । नेपाली अहिले पेट अढ्याउन कपडाको पेटीको सहारा लिदै सहयोग माग्न हिडिरहेका छन् । हातमा स्टिल लगाइएको छ । स्टिल बाहिरबाटै देखिन्छ । हातमा पिप बगेको देखिन्छ । पेट पनि अढ्याउनुपर्ने अवस्था छ । केही दिनअघि उनको बारेमा हामीले समाचार प्रकाशन गरेका छौं । त्यसपछि सहयोग पनि जुट्न थालेको छ । केही रकम तत्कालै बुझाउनका लागि तयारी भइरहेकाले सहयोग गर्न इच्छुक महानुभावलाई स्वेच्छिक सहयोग गर्न नेपालीको आग्रह पनि छ ।

गोली चलेको दिन उनी काम गरेर खाना खानका लागि जाँदै थिए । सँगै गएका साथी प्रहरीको गोली लागेर ढले । ढलेका साथी फेरि उठेनन् । उनलाई पनि प्रहरीले मरिसकेको भन्दै पोष्टमार्टमका लागि लगिसकेका थिए । तर, नेपालीले हात चलाएको देखेर उपचारका लागि लगिएको थियो । गरिव विपन्न परिवारका नेपालीलाई अहिले उपचारका लागि सहयोगको खाँचो छ । उपचार नपाएमा उनको पेट र हातको अवस्था थप समस्याग्रस्त हुनेछ । यसैले विभिन्न क्षेत्रमा सहयोगी दाताका रुपमा स्थापित व्यक्तिहरुले उपचारमा सहयोग गरौं । सहयोगका लागि धनभन्दा पनि भावना चाहिन्छ । एउटा गोली लागेर पनि बाँचेको मान्छेलाई माग्दै हिड्नुपर्ने बाध्यता नबनाऔं । सबैले सहयोग गरौं, उपचार सफल बनाऔं ।

प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]