विपद्को फाइदा नउठाऊ
सम्पादकीय
नेपालमा भएको अत्यधिक वर्षाले देशभर जनधनको क्षति गरेको छ । १५० जनाभन्दा धेरै नागरिकको ज्यान गएको छ भने सय हाराहारीमा वेपत्ता भएका छन् । सयौं परिवार विस्थापित भएका छन् भने दर्जना सवारीहरु पहिरोमा पुरिएको छ । केही सवारीहरु पहिरोबाट निकालिएका छन् । यस्तो विषम परिस्थितिमा हवाई कम्पनीहरुले मौकाको फाइदा उठाए । विपद्बाट थलिएको देशवासीलाई राहतको बदलामा लुट्ने दुस्साहस भयो । चर्को विरोधपछि हवाई भाडा वृद्धि फिर्ता भए पनि उनीहरुले मौकामा चौका हान्न खोजेको प्रवृत्ति फिर्ता हुन सक्दैन । सकेको सहयोग र सहुलियत दिने बेला हवाई कम्पनीहरुले बेठिक गरे ।
देशभर विपद् हुँदा सरकारले आफ्नो स्रोत, साधन र जनशक्तिको उपयोग गरेर उद्धारमा खटियो । कतिपय ठाउँमा सरकार पनि मज्जाले चुकेको छ । समयमा उद्धार नगर्दा धेरैले ज्यान गुमाउनु परेको छ । तर, सधैं सरकारलाई गाली गर्नेहरु, देशका धनाढ्यहरुले राहतमा मानवता समेत देखाउन सकेनन् । देशमा भएका निजी हेलिकप्टरहरु उद्धारमा देखिएनन् । राहतका लागि सहयोग गरेको सुनिएन । विपद्का बेला नाफा घाटा छोडेर नागरिक बचाउन सहयोग गर्नुपर्ने धनाढ्यहरु रमिता हेर्न मात्र योग्य भए । उनीहरुले अरुबेला नाफाको हिसाव गरे पनि विपद्मा मानवता देखाउन सक्थे । तर, सेनाको हेलिकप्टर बाहेक अरु उडेको देखिएन ।
बडादशैं नजिक आएको छ । दशैंको पूर्वसन्ध्यामा सहनु परेको विपद् कसैको बसमा थिएन । दशैंको पूर्वसन्ध्यामा विपद् आइपर्दा व्यापारीहरुले मौकाको फाइदा उठाउने होइन । जहाजवालाले जस्तो मौका छोप्ने होइन । जहाज मात्र होइन, सार्वजनिक यतायातमा पनि भाडा वृद्धि भएको छ । वर्षा हुनुअघि १५ सयमा काठमाडौं जानेहरु अहिले २२ सय रुपैयाँ भयो भनिरहेका छन् । जहाँ पनि मौका छोप्ने काम भइरहेको छ । सबैले मृल्यवृद्धिको विरोध गरौं । अब, खाद्यन्न र लत्ताकपडामा समेत मुल्यवृद्धि हुन सक्छ, सबै उपभोक्ताहरु सचेत रहौं । विपद्मा सकेको सहयोग गरौं । मौकाको फाइदा उठाउने काम बन्द गरौं ।