जुकेखाडी सामुदायिक वनको २९ औं वार्षिक साधारणसभा
इन्द्रकुमार राई
शनिश्चरे । अर्जुनधारा नगरपालिका – ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको कार्यालय परिसरमा सोमबार आयोजित साधारणसभाले बार्षिक प्रगति प्रतिवेदन, आलेप र स्वतन्त्र लेखा परीक्षण, बार्षिक बजेट , नीति तथा कार्यक्रम, वन पैदावर अनुगमन , उपभोक्ता वन पैदावर माग, निवेदन संशोधित विधान अनुमोदन ,आ.व. २०८१-०८२ को वन पैदावर संकलन सम्बन्ध जस्ता ११ वटा प्रस्तावहरु निर्णय गर्दै सम्पन्न भएको हो । प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका – ३ का वडा अध्यक्ष सीताराम भट्टराईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
साधारणसभामा संस्थाका अध्यक्ष मोहन श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार नेपालको पूर्वी तथा झापा जिल्लाको उत्तरी भेग उर्वर भूमिको काखमा रहेको यस सामुदायिक वनको स्थापना २०५२ साल मंसिर २० गते भई सोही बर्ष माघ ३ गते तत्कालीन जिल्ला वन कार्यालय झापाबाट विधिवत रुपमा स्वीकृत भई उपभोक्ताहरुबाट संरक्षण ,व्यवस्थापन र सदुपयोग हुदै आएको छ ।
यस नगरपालिका वडा नम्बर ३ , ४ र ७ का १८९६ घरधुरीका जम्मा ८ ५९४उपभोक्ताहरु अद्यावधिक भई केही उपभोक्ताहरु अद्यावधिक हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यस सामुदायिक वन ७४७ .७० हेक्टर क्षेत्रफलमा फैलिएको उष्ण प्रदेशीय सदाबहार जंगलको रुपमा रहेको उल्लेख छ । त्यस्तै संस्थाका कोषाध्यक्ष मनिला जबेगु इङनामले आ.व. २०८०-०८१ को आम्दानी र खर्च वितरण तथा ०८१-०८२ को लागि अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् भने लेखा समितिका संयोजक कमल बुढाथोकीले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समूहको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले कैंदले पर्यापर्यटन क्षेत्रको प्रगति प्रस्तुत गरेका थिए । समूहका सहसचिव सोमनाथ चापागाईंले बार्षिक वन पैदावर अनुगमन प्रतिवेदन प्रस्तुत गरेका थिए । यसै समूहका विधान संशोधन समिति संयोजक जीवन भण्डारीले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा संस्थाको हितमा सहयोग पु¥याउने समूहका पूर्व सदस्यहरु बसोधा घिमिरे र सावित्रा दाहाललाई सम्मान–पत्रसहित सम्मान गरिएको थियो । त्यसैबीच उपभोक्ता समूहभित्र रहेका विपन्न ३१ घर परिवारलाई २ लाख १ हजार रुपैयाँ मूल्य बराबरको कोशी कम्पनीको ग्यास ट्याङ्की र चुल्हो जनही २-२ थान वितरण गरिएको थियोे ।
उपभोक्ताहरुको कल्याणका लागि विपन्न वर्गमा पर्ने ३१ घरका परिवारलाई प्रति घर १-१ जनालाई स्वास्थ्य बीमाका लागि ३५ सयका दरले उपलब्ध गराएको उपाध्यक्ष तिम्सिनाले जानकारी दिए । अध्यक्ष श्रेष्ठको सभापतित्व र सचिब उर्मिला अधिकारी कटुवालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख भट्टराईले शुभकामना मन्तव्य राख्दै उपभोक्ता समूहको आम्दानीको बाटो जंगलमा रुख काटिन्छ, त्यो बिक्री गरिन्छ । त्यसबाट आएको रकमले कर्मचारीहरुलाई तलब–भत्ता खुवाउने बाटो वन आम्दानीको स्रोत हो भन्ने सोच्नु हुदैन । उनले वैकल्पिक आम्दानीको बाटो अपनाउन समूहका सदस्यहरुलाई सुझाव दिए । विपन्न उपभोक्ता वर्गका छोराछोरीहरु पढ्न नपाएर घर मै बसिरहेका छन् ।
बालबालिकाका लागि छात्रवृत्ति व्यवस्था गरिनुपर्ने उनले अर्को यस्तो सुझाव दिए । कार्यक्रममा अर्जुनधारा नगरपालिका –४ का वडाध्यक्ष अम्बर बहादुर कटुवाल, कन्काई सब – डिभिजन वन कार्यालय सुरुङ्गा झापाका वन अधिकृत सुरेशकुमार खनाल, नेकपा माओवादी केन्द्र अर्जुनधारा – ३ वडा कमिटी अध्यक्ष याम मगर, एकीकृत समाजवादी पार्टी ३ नम्बर वडा उपाध्यक्ष सीता भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।