सडकको अवस्था बुझेर मात्रै यात्रा गरौं
सम्पादकीय
अत्यधिक वर्षाले देशभरका सडक पूर्वाधारमा क्षति पुगेको छ । कतैं पुल बगाएको छ भने कतै सडकमा क्षति पुगेको छ । दुई दिनसम्म लगातार भएको वर्षाले देशको जनजीजनलाई नै तहसनहस बनाइदियो । चाडवाडको पूर्वसन्ध्यामा भएको प्राकृतिक विपत्तिले सबैका मन गह्रौ बनाएको छ । चाडवाडमा जोहो गर्ने, व्यापार गर्ने, घर जाने योजनाहरुलाई वर्षाले अस्तव्यस्त बनाएको छ । अहिले सडकभर अलपत्र यात्रुहरु भेटिरहेका छन् । अलपत्र यात्रुहरु गन्तव्यसम्म कसरी पुग्ने हो कुनै टुंगो छैन । उनीहरु कोही चुनौतिका बीच गन्तव्यतिर लागेका छन् भने कोहि फर्किरहेका छन् ।
अहिले सबैभन्दा धेरै ख्याल गर्नुपर्ने विषय भनेको सडक हो । राम्रैसँग गन्तव्य तर्फ गइरहेका कयौं गाडिहरु पहिरोले पुरिएका छन् । जसबाट सुरक्षाकर्मीले मृत यात्रुहरु बाहिर निकालिरहेका छन् । यात्राका क्रममा यति ठुलो दुर्घटना होला भन्ने कोही पनि यात्रुले महसुस गरेका थिएनन् । तर, वर्षाले निम्त्याएको दुर्घटनाले जनधनको ठुलै क्षति गरेको छ । अब, मौसम विस्तारै सुधार भइरहेको छ । यात्रा विस्तारै सहज हुदैछ । अहिले पनि दजैनौ सडक खण्डहरु सुचारु भइरहेका छैनन् । पहिरोको जोखिम पनि उस्तै छ । धेरैभन्दा धेरै सावधानी अपनाएर मात्र यात्रा गर्नुपर्ने अवस्था छ ।
विपद्को पीडाका बीच आफन्तहरुको भेटघाट रोक्न सकिन्न । लामो यात्रा गरेर आफन्तसँगको भेटघाट, घर फर्किने काम अवश्य पनि रोकिने छैन । तर, यात्रालाई सुरक्षित बनाउन अपरिहार्य छ । आफु जानुपर्ने ठाउँ कहाँ हो ? बाटो कस्तो छ ? मौसमको अवस्था के छ जस्ता सूचनाहरुबारे जान्न जरुरी छ । चाहे घर फर्किने व्यक्ति होस् वा घरमा कुरिरहने आफन्त जो होस् । सडकको अवस्था बारेमा अवगत हुनैपर्छ । सुरक्षित रुपमा यात्रा गर्नुपर्छ । यातायात व्यवसायीहरुले पनि चाडवाडको मात्र लोभ गरेर हुदैन । सुरक्षित यात्रा नै हुन सकेन भने लोभको पनि केही अर्थ हुदैन । त्यसैले सुरक्षित यात्राका लागि ध्यान दिन जरुरी छ ।