बैशाख २४, २०८२ बुधबार

स्थानीय बजारलाई प्राथमिकता दिऔं

सम्पादकीय

यो वर्षको बडादशैंका लागि व्यापार गर्न तयारी व्यवसायीहरुलाई वर्षाले निराश बनाएको छ । दशैंको एक महिनाअघि देखि हुने चहलपहल अहिलेसम्म सुरु भइरहेको छैन । व्यवसायीहरुका लागि सबैभन्दा धेरै व्यापार गर्ने समयमा भइरहेको निराशा यत्तिकै रहन्छ कि आशा गरेको व्यापार हुन्छ भन्ने दुविधा छ । नेपालीहरुको महान पर्व बडादशैंमा जस्तो सुकै पारिवारिक अवस्था हुँदा पनि सरसामान खरिद गरिन्छ । बजारमा भीडभाड चहलपहल हुनुपर्नेमा अहिलेसम्म सुनसान जस्तै छ । अहिले व्यवसायीहरु वर्षा, आर्थिक मन्दी र खुला सीमाको चूनौति व्यवहोरिरहेका छन् ।

झापाबाट भारतीय बजार पुग्नका लागि धेरै समय लाग्दैन । जिल्लामा ठुला–ठुला बजार हुँदा पनि धेरै नेपालीहरु किनमेलको लागि सिलिगुडीसम्म पुगिरहेका हुन्छन् । एकातिर प्राकृतिक विपद् र अर्कातिर उपभोक्ताहरु भारत जाने परम्पराले स्थानीय व्यवसायीहरु मारमा परेका छन् । सीमामा भन्सार कार्यालयले कडाई नगर्दा सहजै मालसामान आयात गर्ने काम भइरहेको व्यवसायीहरु बताउँछन् । यता, भन्सारले कडाई गर्दा नागरिकबाट विरोध हुने गरेको छ । भन्सारको एकल प्रयासबाट मात्र नेपाली उपभोक्ताहरुलाई रोक्न सक्ने अवस्था देखिन्न । त्यसका लागि व्यवसायीहरुले पनि चासो दिन जरुरी छ ।

यहाँका बजारमा महंगो हुने पीर उपभोक्ताहरुमा छ । मनपरी मुल्यका कारण उपभोक्ताहरु सुपथ मुल्य खोज्दै भारतीय बजार पुग्ने गरेका छन् । स्थानीय व्यवसायीहरुले सुलभ मुल्यमा उपभोक्तालाई खाद्यन्न देखि लत्ताकपडासम्म उपलब्ध गराउने हो भने भन्सारले कडाई गर्नै पर्दैन । उपभोक्ताहरु स्वतःस्थानीय बजारमा किनमेलका लागि जानेछन् । यसैले व्यवसायीहरु, वाणिज्य संघहरुले भारतीय बजार जाने उपेभाक्ता रोक्न के–के गर्नुपर्छ ? त्यसको खोजी गर्न जरुरी छ । उपभोक्तामैत्री बजार बनाउने हो भने बाहिर जानु पर्दैन । त्यसका लागि व्यवसायीहरुले उपभोक्ता केन्द्रीत कार्यक्रम, सहुलियत बजारको सञ्चालनमा ख्याल गर्नुपर्छ । उपभोक्ताहरुले पनि यहाँको बजार बचाउन भूमिका निर्वाह गर्नुपर्छ ।

प्रकाशित मिति : आश्विन १६, २०८१ बुधबार  ५ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]