जेष्ठ ४, २०८२ शनिबार

झापामा सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास सम्पन्न

झापा । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाको अगुवाइमा आज नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहभागितामा सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास सम्पन्न भएको छ ।

सडक दुर्घटनाका जोखिमलाई न्यूनीकरण गर्न र दुर्घटनापछि प्रभावकारी उद्धारसँगै राहत कार्य गर्ने तथा सुरक्षा निकायहरू बीच समन्वय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले अभ्यास गरिएको सूचना अधिकारी महेशराज विष्टले जानकारी दिए ।

अभ्यास कार्यक्रममा झापा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली सेना अरिदमन गण, चारआलीका प्रमुख सेनानी प्राजु बस्न्यात, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक कुलचन्द्र नेपाल र झापा जिल्ला रेडक्रसका अध्यक्ष लोकराज ढकाल लगायतको उपस्थिति थियो ।

भद्रपुर नगरपालिका वडा नं. ६ शान्ति चोकमा सवारी दुर्घटनाको समयमा ठूलो संख्यामा यात्रु घाइते हुने र सवारी साधनभित्र च्यापिएका घाइतेहरूको उद्धार गर्ने तरिकाहरूको डेमो प्रस्तुत गरिएको थियो । उद्धारपछि प्राथमिकिकरण र प्राथमिक उपचार गर्ने विधिहरू समेत प्रदर्शन गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका उद्धारकर्ताहरूले गम्भीर र सामान्य प्रकृतिका घाइतेहरूको उद्धार कार्यको अभ्यास गरे भने रेडक्रसका उद्धारकर्ताहरूले घाइतेहरूको उमेर, घाउको प्रकृति, र गम्भीरताको आधारमा प्राथमिकता निर्धारण गरी प्राथमिक उपचारको अभ्यास प्रस्तुत गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले नेपालको भौगोलिक अवस्थाका कारण सडक दुर्घटनाहरू गम्भीर समस्या बनेको बताउनुभयो । उहाँले सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा शीघ्र उद्धार र राहत कार्यमा सुरक्षा निकायहरू बीच सशक्त समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले अभ्यासमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस अभ्यासले सवारी दुर्घटनाको समयमा कसरी प्रभावकारी उद्धार कार्य गर्नुपर्छ भन्ने महत्वपूर्ण सन्देश दिएको उल्लेख गर्नुभयो । उहाँले भविष्यमा हुन सक्ने सवारी दुर्घटनामा प्रतिकार्य, उद्धार, तथा सुरक्षा कार्यहरू अझ परिष्कृत हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र नेपाल रेडक्रस सोसाइटीबीचको सहकार्यले विपद् व्यवस्थापनमा एकीकृत प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको तथा यस्ता सहकार्यले सम्बन्धित निकायहरूलाई आ–आफ्नो जिम्मेवारी स्पष्ट पार्न र आपसी समन्वयको थप सुदृढ बनाएको छ भनी सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक बिष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आश्विन १६, २०८१ बुधबार  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]