जेष्ठ २, २०८२ बिहीबार

प्रसाईँ समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु, ज्यान मुद्दा चलाउने तयारी

काँकरभिट्टा। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधको क्रममा समर्थकले ट्रकमा आगो लगाउँदा घाइते भएका चालकको मृत्यु भएको छ ।

आगलागीबाट घाइते ट्रक चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा रायको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई सुरूमा प्रसाईँकै बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य थप जटिल बनेपछि उनलाई थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज पठाइएको थियो ।

पदा रायको गएराति मृत्यु भएको हो । रायको मृत्यु भएपछि उनका आफन्तहरुले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाकासमेत अवरोध गरेका थिए ।

साइबर क्राइमको आरोपमा प्रहरीले दुर्गा प्रसाईँलाई पक्राउ गरेपछि उनका समर्थक गत ७ गते बिहान २:५० बजे बिर्तामोड-६ गिरीबन्धु टी-इस्टेट नजिक दुहबीबाट जुट पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा आगो लगाएर भागेका थिए ।

भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी आइतबार रायको शव नेपाल पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोष्टमार्टम गरेर आफन्तले शव बुझेको झपाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नेपाल प्रेसलाई बताए ।

आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । सीडीओ बाँस्तोलाले अब उनीहरूलाई ज्यान मुद्दा चलाइने बताए । उनले आगजनी गर्नेहबाट क्षतिपूर्ती भराउने तयारी पनि भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : आश्विन २१, २०८१ सोमबार  २ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]