तिहारमा चिनीको मूल्य सस्तिने, भन्सार छुटको ३० हजार टन चिनी ल्याइँदै
काठमाडौं, ५ कात्तिक । यसवर्षको तिहारमा चिनीको मूल्य सस्तिने भएको छ । सरकारी संस्थानहरूले ५० प्रतिशत भन्सार छुटमा ठूलो परिमाणमा चिनी आयात गरिरहेका कारण तिहारमा चिनीको मूल्य सस्तिने भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० हजार टन चिनी आधा भन्सार छुटमा आयात गर्न लागेका छन् । यसका साथै उनीहरूको नियमित कोटाको चिनी पनि आयात भइरहेको छ । भन्सार छुटका कारण चिनीको लागत कम पर्ने र बजारमा आपूर्ति बढ्ने भएकाले चिनीको मूल्य घट्ने अपेक्षा गरिएको छ ।
संस्थानका अधिकारीहरूका अनुसार भन्सार छुटबाट आउने चिनीको मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा कम हुन सक्छ । तर ढुवानी खर्च र अन्य लागत यथावत रहने भएकाले अन्तिम मूल्य कति हुने भन्ने यकिन भइसकेको छैन ।
निजी व्यवसायीहरूले भने आफूहरूलाई पनि भन्सार छुटमा आयात गर्न दिए किलोको ९९ रुपैयाँमा चिनी बेच्न सक्ने दाबी गरेका छन् ।
अहिले बजारमा चिनीको मूल्य १२० रुपैयाँसम्म पुगेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वको अवसरमा ५ रुपैयाँ छुटसहित प्रतिकिलो १०२ रुपैयाँ ५० पैसामा बेचिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले २ किलोको प्याकेट २२५ रुपैयाँमा बेचिरहेको छ भने भाटभटेनीले प्रतिकिलो १०८ रुपैयाँमा बेचिरहेको छ ।
नेपाली बजारमा चिनीको मूल्य छिमेकी भारतको तुलनामा अझै महँगो छ । गोरखपुरमा चिनीको मूल्य गुणस्तर अनुसार प्रतिकिलो ३१ देखि ३७ भारतीय रुपैयाँ ९नेपाली रुपैयाँ ५९ सम्म०मा पाइन्छ ।
चाडपर्वहरूमध्ये चिनीको सबैभन्दा बढी खपत तिहारमा हुने गर्दछ । तिहारमा सेलरोटी, मिठाईलगायतका परिकारमा चिनीको खपत बढी हुन्छ ।