बैशाख २०, २०८२ शनिबार

अर्जुनधारा धाममा मंसिर ८ देखि ४२ औं अनुष्ठान

इन्द्रकुमार राई 

शनिश्चरेर –  पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर ८ गते देखि सप्ताह अष्टोत्तरशत् (१०८) सहित श्रीमद भागवत महापुराण पाठपारायण महायज्ञको आयोजना गरिने भएको छ ।

धामद्वारा आज मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा पुराण प्रचारप्रसार उपसमितिका संयोजक निरज कुमार ओलीले महायज्ञको बारे जानकारी गराएका हुन् । उनका अनुसार धामको ४२ औं बार्षिक अनुष्ठानको रुपमा यस वर्ष विश्वशान्ति तथा पितृ उद्धारका लागि १०८ अष्टोत्तरशत् व्यास ( कुटी) मा १०८ विद्वान आचार्यहरुबाट श्रीमद भागवत महापुराण पाठपारायण तथा १०८ यजमानहरुद्वारा पूजा आराधना ,निजहरूको पितृ , पितामह, प्रपितामह,माता ,पितामही,प्रपितामही समेतको संकल्प नामोच्चारण गरी यजमान बन्ने इच्छुक महानुभावहरुलाई भागवत भेटी बापत ५१ हजार रुपैयाँ दान दक्षिणा लिइ अर्धकट्टी रसिद दिइने व्यवस्था गरिनेछ ।

महायज्ञमा ५ जना आचार्यका साथमा ५१ जना बटुकहरुद्वारा दैनिक हवन र रुद्राभिषक कार्य सञ्चालन गरिनेछ । धर्मदर्शन फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष एवं जलेश्वरधामका व्यासाचार्य पण्डित कुबेर सुवेदीको प्रमुख आचार्य र धामका मुल अर्चक अग्नि प्रसाद सिग्देलको सह आचार्य रहने महायज्ञ मंसिर १५ गते बालाचतुदर्शीका दिन सतबिज छरेर समापन हुने बताइएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा धामका अध्यक्ष नवीन गट्टानीले पत्रकारहरुले सोधेको जिज्ञासाको जवाफ दिदै पितृ उद्धारका लागि १०८ (अष्टोत्तरशत् ) महायज्ञको गर्न आवश्यक रहेको जानकारी दिए । उनले महायज्ञको तयारी भइरहेको स्थलगत अवगत गराए । अध्यक्ष गट्टानीको सभापतित्व र महासचिव शिवलाल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा मुल अर्चक अग्नि प्रसाद सिग्देलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष मनोज जोशीले महायज्ञ सम्पन्न गर्न ९५ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने र पुराणबाट २ करोड १६ लाख ८ हजार रुपैयाँ संकलन हुने अनुमानित आय व्यय प्रस्तुत गरेका थिए । सप्ताहव्यापी महायज्ञ सभ्य भव्य रुपमा सम्पन्न गर्नका लागि व्यासाचार्य पण्डित कुबेर सुवेदी र मुल अर्चक अग्नि प्रसाद सिग्देलको संयोजकत्वमा पुराण तथा यज्ञ व्यवस्थापन मुल समिति गठन गरिएको छ ।

त्यसैगरी उपसमितिहरु अध्यक्ष गट्टानीको संयोजकत्वमा स्वागत तथा दाता सम्पर्क समिति , महासचिव खतिवडाको संयोजकत्वमा पण्डाल,विधुत तथा साउण्ड सिस्टम र कार्यालय व्यवस्थापन समिति, ध्रुव कुमार पौडेलको संयोजकत्वमा स्टोर व्यवस्थापन समिति ,कृष्णप्रसाद पौडेलको साँस्कृतिक तथा भजन किर्तन व्यवस्थापन समिति ,कोषाध्यक्ष जोशीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति , सहकोषाध्यक्ष दिपक तामाङको खाद्य व्यवस्थापन समिति,उपाध्यक्ष भिमचन्द्र भट्टराईको संयोजकत्वमा यज्ञस्थल भूमि तथा आवास व्यवस्थापन समिति ,उपाध्यक्ष चन्द्रकला भण्डारीको संयोजकत्वमा मन्दिर ,पूजा व्यवस्थापन समिति गठन गरिएको छ ।

त्यस्तै वरिष्ठ सदस्य चित्रसेन भण्डारीको संयोजकत्वमा शान्ति सुरक्षा व्यवस्थापन समिति, श्याम घिमिरेको संयोजकत्वमा आपूर्ति व्यवस्था, बेनु प्रसाद शिवाकोटीको सरसफाइ तथा बजार व्यवस्थापन, भानु शिवाकोटीको उद्घोषक व्यवस्थापन, निरज ओलीको संयोजकत्वमा प्रचार प्रसार समिति, छविलाल शिवाकोटीको संयोजकत्वमा धान्याचल व्यवस्थापन समिति र ट्राफिक प्रहरी बिर्तामोड र शनिश्चरे संयुक्त संयोजकत्वमा यातायात व्यवस्थापन समिति गठन गरिएको जानकारी गराइएको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार  ३ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]