लामिछानेका समर्थकले गरिरहेको हुलहुज्जतप्रति कांग्रेसको आपत्ति
काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेका समर्थकहरूले पोखरामा गरिरहेको हुलहुज्जत र सडक प्रदर्शनप्रति गम्भीर आपत्ति जनाएको छ ।
पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई प्रभावित पार्ने र राज्यका तटस्थ निकायहरूलाई आतंकित पार्ने प्रयास भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कानून सबैका लागि समान हुन्छ र हुनुपर्छ । विधिको शासन भनेको कानूनका दृष्टिमा सबै नागरिक बराबरी हुनु हो ।’
‘मुलुकका केही सहकारी संस्थामा रकम जम्मा गर्ने बचतकर्ताको बचत हिनामिना भएको, उक्त रकम बचतकर्ताले फिर्ता नपाएको र उक्त रकमहरु कानून विपरीत सहकारी सञ्चालकहरुले निजी कम्पनीमा समेत दिई अपचलन गरेको भन्ने व्यापक गुनासो आएको र केही सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका सञ्चालकहरु जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध विभिन्न निकायमा उजुर परेता पनि छानबिन प्रक्रिया अगाडि नबढेको हुँदा प्रतिनिधि सभाका सांसदहरुले गृहमन्त्री स्वयं संलग्न रहेकोले प्रहरी प्रशासनले समयमा छानबिन गर्न नसकिरहेको अवस्थामा प्रतिनिधि सभाबाट छानबिनका लागि सहकारी छानबिन संसदीय विशेष समिति गठन भयो । उक्त समितिले विस्तृत अध्ययन पश्चात दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकोले वर्तमान मन्त्रिपरिषद्ले निर्णय गरी उक्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा रहेको व्यहोरा सबैमा अवगत नै छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवेदनले कार्वाहीका लागि सिफारिस गरेका संलग्न विभिन्न आरोपित व्यक्तिहरुलाई सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिनै रहेको छ ।
आरोपितहरुमध्ये गोर्खा मिडिया कम्पनीका सञ्चालक जीबी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् । सोही प्रकरणमा जोडिएका अर्का आरोपित व्यक्ति रवि लामिछाने पनि केही दिन पहिले पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा नै रहेका छन् । कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रकृयालाई सहयोग पुर्याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन बढी जिम्मेवारी हुनु पर्दछ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भैरहेको गतिविधिहरुले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ ।’
कांग्रेसले न्यायिक प्रक्रियालाई विश्वसनीय बनाउन र विधिको शासन कायम गर्न उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित रहन सबै पक्षलाई अपिल गरेको छ ।