रोङमा किराँत सांस्कृतिक पार्कले थप्यो आकर्षण
बिर्तामोड । पर्यटकीय गन्तव्यहरुको जिल्ला भनेर चिनिने इलाममा किराँत पार्कले थप आकर्षण बढाएको छ । अब इमालमा कन्याम, श्रीअन्तु, पाथीभरासँगै पर्यटकहरु किराँत पार्क घुम्ने पुग्ने भएका छन् ।
निर्माणकै चरणमा रहेको किराँत पार्क भर्खरैबाट पर्यटकहरुका लागि खुला गरिएको छ । जहाँ पर्यटकहरुको उपस्थिति बाक्लिन थालेको छ । रोङ गाउँपालिका–५ चिसापानीमा निर्माण गरिएको किराँत पार्कलाई गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बो ‘सुवास’ ले स्वर्गको टुक्राका रुपमा व्याख्या गरेका छन् ।
सुन्दरता, हावापानी, भौगोलिक संरचनाले सबैलाई लोभ्याउने अध्यक्ष स्याङ्बोको दावी छ । किराँतहरुको बाक्दो बसोबास रहेको सो क्षेत्रलाई पर्यटकीय गन्तव्यकै रुपमा अघि बढाउन गाउँपालिकाले काम गरिरहेको उनको भनाई छ ।
अध्यक्ष स्याङ्बोका अनुसार कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा पार्क निर्माण गरिएको हो । ०८१ बैशाखबाट निर्माण सुरु गरिएको पार्क असार १५ मा सम्पन्न गर्ने सम्झौता रहेको थियो । सो क्षेत्र घुमफिरमा जाने अधिकांशले पार्क संरचना क्षेत्रलाई चीनको ग्रेटवालको संज्ञा समेत दिने गरेका छन् । भौगोलिक बनोट नै ग्रेटवालको जस्तो भएकाले त्यस प्रकारको प्रतिक्रिया आउने गरेको भनाई छ ।
शान्तिनगरबाट उत्तर ४ किलोमिटरमा रहेको किराँत पार्कमा प्रवेशद्वार, फूलवारी, ढुङ्गाका आकर्षक आकृतिहरु, यलम्बरको प्रतिमा, किराँत पुजा स्थलसहितका संरचनाले लोभलाग्दो गन्तव्यस्थल बनेको छ । किराँत पार्कबाट झापाको फाँटहरु र विहान सुर्योदय हेर्न सकिन्छ । पार्क पुग्ने धेरै बाटोहरुमध्ये शान्तिनगर गौढा हुँदै सहज हुने स्थानीय बताउँछन् ।
रोङका अध्यक्ष स्याङ्बोले कोशी प्रदेश मै सबैभन्दा धेरै किराँतहरु बसोबास गरेको र किराँत सभ्यतासँग पनि जोडिएकाले त्यसको संरक्षणमा लागेको बताए । उनले आन्तरिक पर्यटकहरु देश बाहिर पुगेर ठुलो खर्च गरिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नै ठाउँको पर्यटकीय गन्तव्यहरुमा घुमफिर गर्न र खर्च गर्न आग्रह पनि गरे ।
१९ किमिको कर्सोङ पदमार्ग निर्माण पश्चात किराँत पार्क निर्माण गरिएको हो । सो पद मार्गमा किराँत पार्कलाई समेत जोड्ने योजना रहेको अध्यक्ष स्याङ्बोको भनाई छ । किराँत पार्क सञ्चालनमा आएसँगै किराँत सामुदायिक होमस्टे समेत सुरु भएको घोषणा गरिएको छ । स्थानीय १५-२० वटा घरमा होमस्टे समेत सुरु भएको अध्यक्ष स्याङ्बोले घोषणा गरेका छन् । घुमफिरमा आउनेहरुका लागि होमस्टे पनि सुरु गरिएको बताइएको छ । उनले अन्तिममा थपे, ‘चिसापानीको किराँत पार्क नआएमा जीवनमा एउटा गल्ती हुने छ ।’