बैशाख १९, २०८२ शुक्रबार

तीन बुँदे सहमतिपछि लयमा फर्कियो केरखा

बिर्तामोड । बसको ठक्करबाट दुई जनाको घटनास्थलमै ज्यान गएपछि तनावपूर्ण बनेको केरखाको वातावरण आज विहानबाट लयमा फर्किएको छ । हिजो साँझबाट तनावपूर्ण बनेको केरखा विहानसम्म अशान्त थियो ।

मृतकको परिवार र प्रशासनबीच तीन बुँदे सहमति भएसँगै केरखा क्षेत्रका आक्रोसित भीड हटेको छ । दुई जनाको ज्यान गएपछि आक्रोसित सो क्षेत्रको बजार खुलेको छ भने पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन खुला गरिएको छ । बसको ठक्करबाट कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनको ११ वर्षीया नातिनी कृपा लिम्बूको घटनास्थलमा मृत्यू भएको थियो ।

पीडित परिवारसहितको अक्रोसित भीडले सडक नै अवरुद्ध गरेर बस चालकलाई बाहिर निकाल्नुपर्ने माग गरेको थियो । उनीहरु मृतकहरुको शव सडकमै राखेर सडक अवरुद्ध गरेका थिए । विहान भएको सहमतिपछि पोष्टमार्टमका लागि पठाइएको झापा प्रहरीले जनाएको छ ।

चालकलाई हदैसम्मको कानुनी कारबाही, पीडित परिवारलाई अधिकतम क्षतिपूर्ति र सहमति कार्यान्वयन गर्ने दुई पक्षबीच सम्झौता भएको बुझिएको छ ।

तनावपूर्ण बनेको केरखामा पीडित पक्षले प्रहरी बीटसहित विभिन्न संरचनामा आगजनीसहित तोडफोड गरेको प्रहरीको भनाई छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि अश्रग्यास समेत प्रहार गरेको थियो ।

झापा ट्राफिकका अनुसार बुधबार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक बालिकाको जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबा बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर फर्कँदै उनीहरु दुर्घटनामा परेका थिए ।

बस चालक विशाल ठटाललाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]