रास्वपाले बुझोस्, सडक अदालतले फैसला गर्ने दिन गयो : प्रदीप ज्ञवाली
बिर्तामोड । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सडक अदालतले फैसला गर्ने दिन गएको बताएका छन् । नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले रास्वपाले सडक अदालतबाट फैसला गर्न चाहेको बताए ।
नेता ज्ञवालीले रास्वपालाई अदालतले फैसला गर्ने भन्दै सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताए । उनले रास्वपाले ‘क्लिन चिट’ पाएको भन्दै हुर्रे गरिसकेकाले अदालतबाट पनि क्लिन चिट ल्याउन सूझाव दिएका छन् । सरकारले संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ, ज्ञवालीले भने – कसैलाई कानुन लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुदैन ।
कांग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाण, एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी सहित अन्य धेरै नेताहरु पक्राउ पर्दा कुनै पनि पार्टीले जुलुस ननिकालेको ज्ञवालीको भनाई छ । सहकारी ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको अनुसन्धान चलिरहेको बेला प्रदर्शन गरेर कानुन कार्यान्वयन गर्ने निकायलाई प्रभावित बनाउन खोजेर गल्ती गरेको बताए ।
राज्यका निकायलाई काम गर्न दिनुपर्छ, उनले भने – यो सरकार भ्रष्टाचार विरुद्ध निर्ममता पूर्वक लाग्नेछ । संलग्नता भए कानुनी कारबाही हुन्छ, नभए सफाई पाइनेछ । एमालेले संविधानसभा सदस्य इच्छाराज तामाङ देखि बहालवाला बाग्लुङका मेयरलाई भइरहेको कारबाहीमा अवरोध नगरेको बताए ।
केन्द्र तह, जिल्ला, पालिका र जनवर्गीय संगठनका नेताहरु सहभागी भएको कार्यकर्ता भेलामा समसामयिक विचार प्रस्तुत गर्दै नेता ज्ञवाली गल्ती नगर्नेहरु डराउनु नपर्ने बताएका छन् ।
वर्तमान सरकार गणतन्त्र जोगाउनका लागि बनेको भन्दै उनले व्यवस्थाकै विरुद्ध गतिविधि बढेपछि एमाले, कांग्रेसले सरकार बनाएको धारणा राखे । यो सरकारले अस्थिरताको अन्त्य गर्ने नेता ज्ञवादीको भनाई छ । देश बन्दैन, बंगलादेश जस्तो बनाइदिन्छौ भन्दै देशमा निराशा फैल्याउने काम भइरहेकोले सचेत हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । गणतन्त्र मन नपराउनेहरुले बंगलादेश बनाइदिन्छौ भन्दा राजाबादीहरुले पनि मुख मिठ्याएको उनको प्रतिक्रिया थियो ।
नेता ज्ञवालीले पार्टी र सरकार बारेमा धारणा बनाउदा राम्रो बुझेर मात्र बनाउन सूझाव दिएका छन् । पार्टीबाट पनि कमजोरी हुन्छ, हुन सक्छ, उनले भने – त्यो बेला पनि धारणा बनाउदा यथार्थ बुझेर बनाउन आग्रह गरेका छन् । पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिदैं आत्मबल बलियो बनाएर काम गर्न भनेका छन् । आत्मबल नै कमजोर भयो भने मात्र समस्या हुन्छ, नत्र केही हुने वाला छैन ।
प्रशिक्षणका क्रममा उनले माओवादीको प्रसंगलाई पनि जोडे । माओवादी अध्यक्ष प्रचण्डले ३२ सिटे जादुमयी नम्बरबाट कांग्रेस एमालेलाई घुमाइरहने सपना देखेपछि उनको नेतृत्वले अस्थिरता बढाउदै लैजाने निष्कर्ष निकालेको बताए । नेता ज्ञवालीले माओवादीले एमाले–कांग्रेसलाई घुमाइरहने अवस्थालाई बन्द गर्न पनि राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिएको बताए । उनले कांग्रेस एमाले सरकारमा भए पनि निर्वाचनमा एकअर्काको प्रतिष्पर्धी भएको जनाए ।