बैशाख २६, २०८२ शुक्रबार

रवि र छविको तिहार कास्की प्रहरी हिरासतमै

पोखरा । पोखरास्थित सूर्यदशन बचत तथा ऋण सहकारीको रकम अपचलन र संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तिहार कास्की प्रहरी हिरातमै बित्ने भएको छ । जिल्ला अदालत कास्कीले आज बिहीबार सात दिनको म्याद थपिदिएसँगै लामिछानेको तिहार कास्की प्रहरी हिरासतमै बित्ने भएको हो ।

लामिछाने असोज २ गते शुक्रबार साँझ काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए । उनलाई ३ गते शनिबार बिहान कास्की ल्याइएको थियो भने ४ गते आइतबार अदालतमा उपस्थित गराइएको थियो । सो दिन उनलाई अदालतले छ दिन म्याद थप गरिदिएको थियो । उक्त छ दिन म्याद आज बिहीबार गुज्रिँदै थियो ।

आज थप भएको सात दिन म्याद कार्तिक १५ गते सकिनेछ । १५ गते कुकुर तिहार पर्व परेको छ । तिहार पर्वका कारण कार्तिक १४ गतेदेखि नै अदालत बन्द हुनेछ । उनलाई कास्की प्रहरीले अदालत खुल्ने दिन २० गते मंगलबारबार मात्रै अदालतमा उपस्थित गराउने छ ।

लामिछानेलाई बयानका लागि मंगलबार र बुधबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो । सहकारी ठगीमा उनले इन्कारी बयान दिएका छन् । उनी आज अदालतमा पनि आक्रोशित ढंगले प्रस्तुत भएको बताइएको छ ।

लामिछानेलाई बुटवलको सुप्रिम, चितवनको सहारालगायतका सहकारीको रकम अपचलनमा बयानका लागि रुपन्देही र चितवन लगिने प्रहरीको तयारी छ ।

रविसँगै पूर्वडीआइजी छविलाल जोशीको पनि तिहार हिरासतमै बित्ने भएको छ । उनको दशैँ पनि हिरासतमै बितेको थियो । उनी असोज २ गते पक्राउ परेका थिए । उनलाई पनि आजै चौथोपटक सात दिनको म्याद थप भएको छ ।

तिहार बिदामा लामिछाने र जोशीका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदनसमेत दायर गर्न सकिन्छ । बन्दी प्रत्यक्षीकरणको रिट भने पर्व बिदामा समेत अदालतले हेर्ने छ । यसअघि दशैँ बिदामा जोशीको हकमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिदिएको थियो ।

जोशीलाई कार्तिक ५ गते सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । उनले मंगलबार बयान दिएपछि बुधबार कास्की नै फर्काइएको थियो । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा पनि उनको नाम जोडिएको छ ।

प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार  ५ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]