बैशाख २५, २०८२ बिहीबार

विपद्मा परी मृत्यु भएका झापाका चार परिवारलाई दुई लाखको दरले राहत

झापा – विपद्मा परेका झापाका चार मृतक परिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको छ । असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढी पहिरो र डुबानलगायत विपत्का घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले राहत वितरण गरेको हो।

त्यस क्रममा झापाका चार परिवारले पाएका हुन् । राहत पाउनेहरूमा कमल गाउँपालिका– १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी, कचनकवल– १ की १४ वर्षीया नेहारिका राजवंशी, झापा गाउँपालिका–४ बस्ने मन्जुहक मिया र गौरीगञ्ज –८ बस्ने लीलाबहादुर गिरीको परिवार रहेका छन् ।

चौधरी र राजवंशीको डुबेर मृत्यु भएको थियो भने मिया र गिरीको चट्याङ लागेर ज्यान गएको थियो । मृतक परिवारका सदस्यहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत दुई–दुई लाखका दरले राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले बताए ।

त्यस्तै जिल्लाका दुई अग्निपीडित परिवारलाई १५–१५ हजारका दरले राहत वितरण गरिएको उनले जानकारी दिए । राहत पाउनेहरूमा गौरादह– ५ का रणबहादुर दनुवार र हल्दिवारी– ३ का तारावल्लब गिरी रहेका छन् । असोजको दोस्रो साता आएको अविरल वर्षाका कारण बाढीमा डुबेर झापामा ६ जनाको मृत्यु भएको थियो ।

असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढी पहिरो र डुबानलगायत विपत्का घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले राहत वितरण सुरु गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म बाढी पहिरो प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको जानकारी दिए ।उनका अनुसार हालसम्म विपत्मा परी ज्यान गुमाएका २३८ मृतकका परिवारलाई आर्थिक सहायता स्वरूप राहत रकम वितरण गरिएको छ ।

प्रकाशित मिति : कार्तिक ९, २०८१ शुक्रबार  ५ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]