बिर्तामोडमा कोशी प्रदेशसभा सचिवालयको कानूनी राय, परामर्श तथा सहजीकरण
बिर्तामोडमा १९ ऐन, ४८ कार्यविधि निर्माण
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा कोशी प्रदेश सभा सचिवालयले स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया गरेको छ ।
शुक्रवार कोशी प्रदेश सभा सचिवालय विराटनगरको आयोजनामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम भएको हो । कानूनी राय, परामर्श तथा सहजीकरण गर्न उक्ता कार्यक्रमको आयोजना गरिएको हो ।
नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रियामा प्रदेश सभाका सचि गोपाल प्रसाद पराजुली, उपसचिव डिल्लीप्रसाद आचार्य र बिर्तामोड नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव पराजुलीले प्रदेशसभा एवम् सचिवालयको कार्यसम्पादनको अवस्था र उपसचिव आचार्यले स्थानीय कानून तर्जुमा कार्यमा सहजीकरण विषय प्रतिवेदन प्रस्तुत गरेका गरेका थिए । यता, बिर्तामोड नगरपालिकाको तर्फबाट कानुन, निर्देशिका निर्माणको विषयमा तिम्सिनाले जानकारी गराएका थिए ।
तिम्सिनाले बिर्तामोड नगरपालिकामा १९ वटा ऐन, ५ वटा नियमावली, ५ वटा निर्देशिका, ४८ वटा कार्यविधि र १ आचारसंहिता बनाएको जानकारी गराएका थिए । उनले ऐन कानुन निर्माणका चुनौतिबारे समेत धारणा राखेका थिए ।
नगर प्रमुख पवित्रा देवि महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभामुख अम्बर बहादुर बिष्ट, उपसभामुख सृजना दनुवार , प्रदेश सभा सदस्य कमला थापा मगर, गोपाल विश्वकर्मा, नगर उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरु र नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।