धनतेरसका लागि राष्ट्र बैंकबाट मंगलबार मात्रै सुनको असर्फी बिक्री हुने
बिर्तामोड । नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ ।
सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ । मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला हुनेछ। मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहनेछ ।
चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिक्री हुने भएको छ। प्रतिव्यक्तिले अधिकतम पाँच थानसम्म चाँदीका सिक्का किन्न पाउने भएका हुन् ।
गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम गरी पाँच थान सिक्का किन्न पाइने भएको हो ।
यस वर्षबाट चाँदीका मेडालियनको मूल्य समेत बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ। प्रतिसिक्का तथा मेडालियनको दुई सयदेखि ६ सय ५० रूपैयाँसम्म मूल्य बढेको छ ।
यसपालि कात्तिक १३ गते धनतेरस परेको छ । कात्तिक १४ गते पनि धनवन्तरी रहेको उल्लेख छ । धनतेरस तथा धनवन्तरीमा सुन, चाँदी लगायतका वस्तुहरूको किनमेल गरिने चलन छ ।