यात्रु बसहरुबीचको प्रतिस्पर्धाले दुर्घटना बढ्यो
बिर्तामोड । झापामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले चेकजाँच र सचेतनालाई आक्रामक बनाएको छ । नियमित चेकजाँचका अलवा ट्राफिक प्रहरीले बसभित्रै पसेर यात्रुसँग कुराकानी गर्नेदेखि चालक, कर्मचारीहरुलाई ओरालेर नियमका बारेमा जानकारी गराइरहेको छ ।
सर्वसाधारणले यात्रुबाहक बसको लापबारहीका बारेमा धेरै गुनासो गरेपछि ट्राफिक प्रहरीले बसलाई केन्द्रीत गरेर चेकजाँचसँगै सचेत गराइरहेको झापा ट्राफिकका प्रमुख गणेश पौडेलले जानकारी दिए । उनले यात्रुलाई नै गतिका बारेमा सोधपुछ गर्नेदेखि चालकलाई सम्झाई बुझाई गर्ने काम भइरहेको बताए ।
राजमार्गमा धेरै जसो दुर्घटना भएपछि ट्राफिक प्रहरीले सरोकारवालासँग छलफलको तयारी गरेको छ । दुर्घटना न्यूनिकरण साझा दायित्व हो, पौडेलले भने – हामी जिल्ला सुरक्षा समिति, यातायात समिति र सरोकारबालाबीच छलफल गर्दैछौं । उनले सडकमा चाप हुने समय अध्ययन गरेर दुर्घटना न्यूनिकरण गर्न अभियान नै सञ्चालन गरिरहेका छौं ।
झापामा ‘रातो बस’ को आतंक धेरै भएको सर्वसाधारणको प्रतिक्रिया छ । रातो बसका चालकले लापरबाही गर्ने गरेको अधिकांशको भनाई छ । त्यस्ता बस चालकहरुलाई सचेत गराउने काम भइरहेको ट्राफिक प्रमुखको भनाई छ । तीब्र गति, ध्वनि प्रदूषण र गतिको प्रतिस्पर्धा गर्ने बसहरूमाथि धमाधम कारबाही गरिरहेको जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्दै रातो र हरियो रङका ३३ बसलाई कारबाही गरेको छ । बसका ५५ जना चालक र सहचालकलाई सुरक्षित यात्रा र ट्राफिक नियमको पालना गर्न सचेतना प्रदान गरिएको छ । साथै, ध्वनि प्रदूषण गर्ने बसहरूको प्रेशर हर्नसमेत निकालिएको बताइएको छ ।
ओभरस्पीड, गतिको प्रतिस्पर्धा र अत्यधिक ध्वनि प्रदूषणका कारण यात्रुहरूको सुरक्षा र स्थानीय बासिन्दामा समस्या उत्पन्न भएको जनाउँदै ट्राफिक प्रहरी कार्यालयले अभियानलाई निरन्तरता दिने जनाएको छ ।
सडकमा बसहरुबीच गतिमा प्रतिष्पर्धा बढ्दै गइरहेको दुर्घटना वृद्धि भएको बताइन्छ ।