कैलाशघाट व्यवस्थापन समितिको अध्यक्षमा पराजुली सर्वसम्मत
शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ स्थित कैलाशघाट व्यवस्थापन समितिको अध्यक्षमा केदार पराजुली सर्वसम्मत चयन भएका छन् । घाट व्यवस्थापन समितिले आज स्थानीय मलामी खाजा घरमा आयोजना गरेको तेस्रो साधारणसभा तथा अधिवेशनबाट पराजुली अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा निवर्तमान अध्यक्ष युवराज धिताल र शान्तिप्रसाद चौहान ,सचिवमा मेदनी प्रसाद ढुंगेल, सहसचिवमा केशव चिमरिया र कोषाध्यक्षमा देवकला प्रसाईलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा हरिभक्त बराल, सुरेश भट्टराई ,गंगा थापा ,संगीता खड्का ,कञ्चन बिन्दु खड्का ,शिव घिमिरे र धर्मेन्द्र गुप्ता लाई चयन गरिएको निर्वाचन समितिका छविलाल शिवाकोटीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडाले उद्घाटन गरेको साधारणसभामा कैलाश व्यवस्थापन समितिका अध्यक्ष युवराज धितालले संस्थाको तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार वि .स. २०६७ सालमा अर्जुनधारा जलेश्वरधामका अध्यक्ष बृजमोहन गट्टानीको प्रमुख तथा पुष्पलाल निरौलाको विशेष आतिथ्यतामा यस कैलाशघाट नामाकरण गरी शिलान्यास गरिएको उल्लेख छ । त्यस समयमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको थियोे । २०७७ सालमा आम भेला बोलाइ तदर्थ समिति पुनः चयन गरी विधान मस्यौदा र संस्था दर्ता प्रक्रिया कार्यलाई प्राथमिकता राखि १३ सदस्यीय तदर्थ समिति चयन गरिएको थियो ।
उक्त समितिले संस्था दर्ता गर्दै जग्गा दाताबाट संस्थाको नाममा जग्गा ल्याई वेदीघर (लास जलाउने घर ) निर्माणका लागि पेश गरेको प्रतिवेदनमा प्रदेश सरकारद्वारा अनुदान स्वरुप २० लाख रुपैयाँ छुट्टयाइएको थियो । सो बजेट रकमको सम्झौता गर्न जादा संस्थाको नाममा पर्याप्त जग्गा नभएकोले बजेट खारेज भएको प्रतिवेदन उल्लेख गरिएको छ ।
अध्यक्ष धिमालको सभापतित्व र सचिव शान्ति प्रसाद चौहानको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले जग्गा दाताहरुबाट संस्थालाई चाहिने जग्गा सहयोगका लागि जोड दिदै घाट गरीब र धनि दुवैको हो । मर्दा घाट सबैलाई चाहिन्छ उनको भनाइ थियो । अर्का विशिष्ट अतिथि तथा वडा नम्बर ५ का वडा अध्यक्ष गीताराज खड्काले (हरि) आफ्नो वडा कार्यालयबाट घाटलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे ।
स्थानीय कृष्ण प्रसाद खतिवडाले आफूले दिन सक्ने जग्गा संस्थालाई सहयोग गर्ने बचन दिए । कार्यक्रममा संस्थापक अध्यक्ष धर्मानन्द गुरागाई, विरिङ जलाधार संरक्षण तथा व्यवस्थापन समिति अध्यक्ष छबिलाल शिवाकोटी , अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिबरसिंह खड्का , दैवीप्रकोप व्यवस्थापन समूहका अध्यक्ष केदारनाथ पराजुली लगायतले शुभकामना राखेका थिए ।
अधिवेशनपछि निर्वाचन समितिका संयोजक धर्मानन्द गुरागाईले संस्थाका नव निर्वाचित अध्यक्ष पराजुलीलाई निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । समितिको कार्यअवधि तीन वर्षे हुनेछ ।