प्रसाईको कार्यक्रममा सम्बोधन नगरी फर्किए भारतीय प्रोफेसर रागी
बिर्तामोड । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको निमन्त्रणामा आएका दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर डा. संगीतकुमार रागी फर्किएका छन् । प्रहरीले प्रसाईँको कार्यक्रममा भाग लिन नमिल्ने भनेपछि रागी दिल्ली फर्किएका हुन् ।
आइतवार बिर्तामोडको होटेल किंग्सबेरीमा बसेका रागीलाई प्रहरीले कूटनीतिक मर्यादाविपरित बिना अनुमति प्रसाईँको आन्दोलनको कार्यक्रममा भाग नलिन भनेर सम्झाएको थियो । उनी झापा आएको बारेमा समेत औपचारिक जानकारी नभएपछि सुरक्षाका दृष्टिले पनि कार्यक्रममा सहभागी नहुन सचेत गराइएको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले माथिको आदेश रागीलाई सुनाइएपछि आज विहानै उनी दिल्ली फर्किएका छन् । जिल्ला प्रशासनले समेत रागीको विषयमा चासो दिएको थियो ।
बिना अनुमति छिमेकी राष्ट्रको नेताले आन्दोलनमा सघाउन आउनु उपयुक्त नभएको भन्दै गृहले नै झापा प्रहरीलाई सो विषयमा बुझ्न भनेको थियो ।
प्रसाईले आज इटहरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्न आएका दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर रागीलाई बोलाएका थिए । हिन्दुवादी चिन्तकको रुपमा परिचित रागी दिल्लीबाट बागडोक्रा हुँदै त्यहाँबाट स्थल मार्गबाट नेपाल आएका हुन् ।
कार्यक्रममा सहभागी हुन रोक लगाएपछि अभियान्ता प्रसाईले आपत्ति जनाएका छन् ।