बैशाख २०, २०८२ शनिबार

अर्जुनधारामा स्कुल बस दुर्घटना , १० विद्यार्थी घाइते

बिर्तामोड – झापाको अर्जुनधारामा स्कुल बस दुर्घटना हुँदा बालबालिकासहित १० जना घाइते भएका छन् ।

आज बिहान अन्दाजी १० बजे अर्जुनधारा १ शनिश्चरे–साधुटारस्थित भित्री सडकखण्डमा माटेबाट साधुटारतर्फ आउँदै गरेको बस ब्रेक फेल भई पल्टिएको थियो ।

अर्जुनधारा १ बस्ने २८ वर्षीय मदन सुवेदीले चलाएको लोमस पब्लिक बोर्डिङ स्कुलको ना. ३ ख ५५१३ नम्बरको स्कुल बस विद्यार्थीहरु बोकेर विद्यालयतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा बुद्धशान्ति १ बस्ने किरण सम्बाहम्फेकी छोरी ४ वर्षीया आर्या सम्बाहाम्फे, सोही ठाउँ बस्ने सुवार राईका छोरा ९ वर्षीय सुधान राई, अर्जुनधारा १ बस्ने मणिकुमार सुनवारका छोरा ६ वर्षीय सिमान्त सुनुवार, छोरी ९ वर्षीया वर्षा सुनुवार, सोही ठाउँ बस्ने समिदेव राईकी छोरी ५ वर्षीया यमोलिसा राई, सञ्जीव राईका छोरा ७ वर्षीय साहिल राई, रविन राईकी छोरी ८ वर्षीया आज्ञा राई, प्रवेश राईका छोरा ४ वर्षीय प्रशान्त राई, सुरज राईकी छोरी ५ वर्षीया सोफिया राई, सोही ठाउँ बस्ने उक्त स्कुलका शिक्षक ३४ वर्षीय डिल्लीराम सुवेदी र बस चालक मदन सुवेदी रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि शनिश्चरे अस्पतालमा ल्याइएको थियो । सामान्य घाइते भएका उनीहरु उपचारपछि सबैजना डिस्चार्ज भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]