सबै सामाजिक सञ्जाललाई दर्ता अनिवार्य गरियोस्
सम्पादकीय
धेरै वेथिती राजनीति क्षेत्रमा मात्र होइन, सबै जसो क्षेत्रमा पाइन्छ । प्रश्न धेरैजसो राजनीतिक वेथितीविरुद्ध उठिरहन्छन् । यस्तै, धेरै वेथिती रहेको क्षेत्र भनेको सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालको वेथितीले नेपाली समाजलाई नै गलत धारणा बनाउन सहयोग पुगिरहेको छ । सामाजिक सञ्जालकै कारण अपराधसम्मका घटनाहरु भइरहेका छन् । अहिले मनपरी गर्ने र अपराध गर्ने ठाउँ नै सामाजिक सञ्जाल बनेको जस्तो देखिन्छ । नेपालमा चलाइने सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राम, यूट्युव लगायत सबै प्रकारका सञ्जालहरुको अधिकतम दुरुपयोग छ । यसलाई सदुपयोग गर्ने हो भने समाजलाई नै ठिक बाटोमा लैजान सहयोग पुग्नेछ ।
नेपालमा टिकटक सूचिकरण भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्जाल ‘टिकटक’ सूचिकरण भएको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । मन्त्रिपरिषद्को बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो । सरकारले सामाजिक सञ्जाल नियमन गर्ने क्रममा टिकटकलाई दर्ताको प्रक्रियाभित्र ल्याउन सफल भएको छ ।
अघिल्लो सरकारले नेपालमा टिकटक सञ्चालनमा रोक नै लगाएको थियो । टिकटक मार्फत केही राम्रा काम बाहेक अधिकांश प्रयोगकर्ताले दुरुपयोग गरेका थिए । टिकटक अश्लिलता प्रदर्शन गर्ने माध्यम बनाइएको थियो । टिकटकलाई गालीगलौज गर्ने बलियो माध्यम बनाइएको थियो । तर, दर्ता प्रक्रियामा आउने प्रतिवद्धतापछि पुनःसञ्चालन गर्न दिइएको छ । यसरी नै फेसबुकसहित अन्य सञ्जालहरुलाई सरकारले दर्ताको प्रक्रियामा ल्याउनैपर्छ । दर्ता भई सञ्चालन भएको खण्डमा यसलाई अपराध गर्ने, दुरुपयोग गर्ने माध्यम बनाउन कसैले सक्ने थिइन । विभिन्न सामाजिक सञ्जालहरुले नेपालमा दर्ता नगरी यहाँबाट वार्षिक रुपमा ठुलो आम्दानी गरिरहेको छ । जसका कारण राज्यलाई समेत नोक्सान भइरहेको छ । यसैले अब बाँकी रहेका सञ्जालहरुलाई पनि अनिवार्य रुपमा दर्ताको दायरामा ल्याउने काम गरियोस् ।