बैशाख २९, २०८२ सोमबार

क्यान्सरसँग भिड्दै लेखिएको उपन्यास ‘याङरुप’ को लोकार्पण

बिर्तामोड । देवी मावि बिर्तामोडका शिक्षक ज्ञानु बुढाथोकीद्वारा लिखित उपन्यास याङरुपको लोकार्पण गरिएको छ । झापा बिर्तामोड निवासी बुढाथोकीको पहिलो कृति याङरुपको आज वरिष्ठ साहित्यकार कृष्ण धरावासीसहित साहित्य क्षेत्रका अग्रजहरुले लोकार्पण गरेका हुन् ।

क्यान्सर रोग लागेपछिको समयमा बुढाथोकीले उपन्यास लेखेका हुन् । उनको उपन्यास याङरुपको भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको हो । कोभिडको उपचारपछि फोक्सोको क्यान्सरबाट ग्रसित बुढाथोकीले चार वर्षको मेहनतमा कृति प्रकाशन गरेका हुन् । उनको उपन्यास साहित्य पोष्टले प्रकाशन गरेको हो ।

आफु जन्मे हुर्किएको गाउँको कथावस्तुलाई बुढाथोकीले उपन्यासमा प्रकाशन गरेका हुन् । ताप्लेजुङको याङरुप र आफ्नो बाल्यकाललाई जीवन्त बनाउन उनले क्यान्सर लागेपछिको समयलाई लेखनीमा बिताएका थिए । याङरुपलाई बुझ्न उपन्यास नै अध्ययन गर्नुपर्ने लेखकको भनाई छ । मसँग क्यान्सर झुक्कियो, उनी भन्छन्– त्यसपछि नै याङरुप तयार भएको हो ।

झापाली साहित्य समाज र सप्तक संगीत बिद्यालयको संयुक्त आयोजनामा भएको लोकार्पण कार्यक्रममा बुढाथोकीको जीवन संघर्षका बारेमा चर्चा समेत गरिएको थियो । उनले क्यान्सर लागेपछि विताएका समयहरुलाई कार्यक्रममा समेत प्रस्तुत गरिएको थियो ।

साहित्यकार धरावासीले याङरुपमा शुक्तिमय वाक्यको प्रयोग र पात्रहरुको बलियो चरित्र निर्माण भएको धारणा राखेका थिए । उनले कुनै सिद्धान्तमा झुकाव नदेखिएको बताउँदै स्वतन्त्र पूर्वक उपन्यास लेखिएको बताएका थिए । उपन्यासमाथि समिक्षा प्रस्तुत गर्दै धरावासीले भने, ‘हामी बाँचेकै कारण कथाको निर्माण भएको हो, हामीले कुनै कथा बनाएर बाँचेका होइनौं ।’

समिक्षकहरुले याङरुप अध्ययनपछि तुरुन्तै त्यो ठाउँ जान मनपर्ने प्रतिक्रिया दिए । यो उपन्यास अध्ययन गर्दै जाँदा आफ्नै बाल्यकाललाई स्मरण गरायो, मधु केरुङ भन्छन् – गाउँ परिवेशको घटनालाई उतारिएको उपन्यासमा लिम्बू समुदायको जनजीवन पनि उतारिएको छ ।

लोकार्पणपछि कृष्ण धरावासी, प्रा.डा. टंक न्यौपाने, प्रा.डा. बद्री बिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा. बालचन्द्र सुब्वा लगायतले समिक्षा प्रस्तुत गरेका थिए ।

डा. कुमार सुवेदीले स्वागत गरेको लोकार्पण कार्यक्रममा रिता पोखरेल लेखकको परिचय गराएकी थिइन् । कार्यक्रमको सञ्चालन पुरुषोत्तम ढुङ्गेलले गरेका थिए ।

प्रकाशित मिति : कार्तिक २३, २०८१ शुक्रबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]