बैशाख २९, २०८२ सोमबार

तत्काल हिकोला रोडको एकतर्फी नियम हटाउन व्यवसायीको माग

बिर्तामोड । बिर्तामोडको कृषिथोक बजार प्रवेश गर्ने हिकोला रोड एकतर्फी गरेको एक महिना नवित्दै विरोध सुरु भएको छ । व्यापारीहरुले तत्काल एकतर्फी (वनवे) आवतजावत हटाउनुपर्ने माग राखेका छन् ।

गत कात्तिक ११ गतेबाट सुरु भएको एकतर्फी नियम व्यवहारिक नभएको व्यापारीहरुको प्रक्रिया छ । हिकोला रोडमा व्यापार गर्नेहरुले एकतर्फी नियम बनाएर सो क्षेत्रका व्यवसायीहरु मारमा परेको उनीहरुको भनाई छ । एकतर्फी नियम बनाएपछि व्यापार ९० प्रतिशत घटेको व्यवसायी बताउँछन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा भएको उक्त कार्यप्रति व्यवसायीहरुले पुनविचार गर्न आग्रह गरेका छन् । सुरुमा केही व्यवसायीहरुले सहमति जनाएपछि एकतर्फी नियम कार्यान्वयन गरिएको व्यवसायीहरुको भनाई छ । दक्षिण तर्फबाट उत्तर जान पाइने, सो सडकको दुई किनारमा १५-१५ दिन पालैपिलो पार्किङ गर्ने निमय बनाइएको थियो । उक्त नियमका कारण चाडवाडमा व्यापार गुमाउनु परेको व्यवसायीहरुको दुखेसो छ ।

व्यवसायी एमडी सेराजुलले एकतर्फीका कारण व्यवसायी मारमा परेको बताए । उनले सय मिटर एकतर्फी गर्नुको कुनै औचित्य नभएको बताए । उनी भन्छन्, तिहार र छठको व्यापार चौपट भयो । अर्का व्यवसायी बिजय शाहले एकतर्फी गरेपछि व्यापार घटेको बताए । कोही ग्राहक झुक्किएर आइहाले ट्राफिकले फाइन काट्ने गरेको उनको भनाई छ । दक्षिणबाट उत्तर जाने ग्राहकहरु फर्किएर किनमेल गर्न आउदैनन्, उनले भने ।

भाँडा व्यवसायी चन्दन शाहले एकतर्फी नियमपछि व्यापार ठप्प भएको बताए । उनले यो नियमबारे पुनविचार गर्नुपर्ने बताएका छन् । चार चक्के सवारीलाई रोक लगाउँ, उनले भने – ‘बाँकी सवारीको हकमा दुवै तर्फ खुला गरौं । यहाँ पार्किङ गर्ने र किनमेलको लागि अर्कैतिर जाने गरेको पाइयो ।’

सडकमा ट्राफिक व्यवस्थापनका लागि एकतर्फी आवातजावत गर्न मञ्जुर गर्ने व्यापारीहरु समेत व्यवसायीहरु मारमा परेको बताइरहेका छन् । उनीहरुले सुरुमा सहमति जनाएकाले अहिले बोल्न सकिरहेका छैनन् । अनुज इम्पेक्सका सञ्चालक मनोज रौनियारले व्यवसायीहरुको मागलाई पुनविचार गर्नुपर्ने बताउँछन् । ट्राफिक व्यवस्थापन मात्रै हेर्दा ठिकै भए पनि व्यापारीको पक्षमा हेर्दा समस्या भएको छ ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  १२ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]