हिकोला रोडको एकतर्फी नियममा पुनविचार गरियोस्
सम्पादकीय
झापाको बिर्तामोड व्यापारिक दृष्टिले तीब्र विकासको क्रममा छ । पूर्वी पहाडी जिल्लाहरुको पनि मुख्य बजारका रुपमा स्थापित भइरहेको बजार क्षेत्रमा मानवीय चहलपहल बढ्दो छ । बजारमा बढ्दो चापसँगै यहाँका सडकहरु साँघुरो भइरहेका छन् । सवारी साधनको संख्या उत्तिकै बढिरहेको छ । दिनप्रतिदिन मानवीय चाप पनि बढिरहेको छ । पछिल्लो समय बजार बढ्दै गएपछि चुनौतिको रुपमा रहेको सवारी व्यवस्थापनको काम मिलाउन सकिएको छैन । ट्राफिक प्रहरीदेखि स्थानीय सरकार र व्यवसायीसमेतको जिम्मेवारमा रहेको पार्किङको काम कसैबाट पनि समाधान हुन सकेको छैन ।
गत कात्तिक ११ गतेदेखि सवारी चाप, अस्तव्यस्त सडकको व्यवस्थापनका लागि बिर्तामोडमा एकतर्फी आवागमनको अभ्यास भइरहेको छ । हिकोला रोडदेखि कृषिथोक प्रवेश गर्ने रोडमा एकतर्फी सञ्चालनको एक महिना नपुग्दै विरोधका आवाजहरु सुनिन थालेको छ । त्यो पनि व्यापारीकै । व्यापारीकै सहमतिमा गरिएको एकतर्फी नियम लागू गर्न पनि कठिनाइ भइरहेको बेला व्यापारीहरुले पनि गुनासो सुरु गरेका छन् । व्यापारमा नै असर गरिरहेको उनीहरुको तर्क छ । व्यापारीहरुले वाणिज्य संघलाई एकतर्फी नियम तत्काल हटाइदिन माग गर्न थालेका छन् ।
सडक वास्तवमै अस्तव्यस्त छ । वाणिज्य संघले पनि व्यवसायीहरुसँग सामान्य छलफल गरेर थालेको काम सफल हुनेमा शंकै छ । एउटा बाटो १ सय मिटर एकतर्फी गरेर समस्याको समाधान हुन सक्दैन । ग्राहकहरु पसलसम्म नै आफ्नो सवारी लिएर जाने गर्छन् । अहिले तत्कालै आदत नभएकाले पनि व्यवसायीहरुलाई त्यस्तो लागेको हुन सक्छ । एउटा बाटो मात्र होइन, सबै जसो यहाँका शाखा सडकहरुमा एकतर्फी नियम लागू भएमा त्यो पनि जायज हुन सक्छ । यहाँको सडक क्षेत्रलाई सहज बनाउनका लागि ट्राफिक प्रहरी र वाणिज्य संघले गरेको काम ठिक हो । तर, व्यापारीले नै मारमा परेको बताउन थालेपछि उनीहरुको गुनासो सुन्नैपर्छ । केही व्यापारीले एकलौटी सहमति गरेर नियम लागु गरेको पनि आरोप छ । त्यसैले तत्काल सबै व्यापारीसँग छलफल गरेर निकास निकाल्नैपर्छ । उनीहरुको माग अनुसार एकतर्फी नियमबारे पुनविचार गर्नैपर्छ ।