बैशाख २०, २०८२ शनिबार

अर्जुनधारा जलेश्वरधाममा महायज्ञको तयारी तीब्र

इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर ८ गते देखि आयोजना गरिने सप्ताह अष्टोत्तरशत् ( १०८ ) सहित श्रीमद भागवत पाठपारायण तथा हवनात्मक महायज्ञको तीव्र तयारी भइरहेको छ ।

धामको ४२औं बार्षिक अनुष्ठानको रुपमा विश्वशान्ति एवम् पितृ उद्धारका लागि आयोजना गर्न लागेको महायज्ञ बिगत बर्षहरुको भन्दा भिन्न किसिमको हुने आयोजकले बताएको छ । आयोजकका अनुसार धर्मदर्शन फाउन्डेसनका संस्थापक तथा धामका व्यासाचार्य पण्डित कुबेर सुवेदी प्रमुख आचार्य र मुल अर्चक अग्नि प्रसाद सिग्देल सहआचार्य रहने महायज्ञ कार्यक्रममा भारत नयाँदिल्लीका कालीबाबाको प्रमुख आतिथ्य र कालिपोङ्गका प्रणामी धर्म गुरु मोहन प्रियाचार्यको विशिष्ट आतिथ्यता रहनेछ । 

यस बर्षको महायज्ञमा आन्तरिक र बाह्य गरि लगभग ५ लाख भक्तजनको आगमन हुने अनुमान गरिएको धाम कार्यसमिति सचिव कृष्णप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार महायज्ञ तयारीका लागि मूल मन्दिरको पूर्व– दक्षिण तर्फ १०८ व्यास (कुटी), यज्ञ, मण्डप आदि तीव्र निर्माण कार्य गरिदैछ । अर्जुनधारा नगरपालिका –८ स्थित ऐतिहासिक शनिश्चरे बजार चोकमा बिजुली बत्तीको ५० फिट अग्लो गेट निर्माण गरिनेछ ।

शनिश्चरे बजार चोकदेखि अर्जुनचोकसम्म आकर्षक बिजुली बत्ती जडान गरिनेछ । त्यस्तै धामभित्र रहेको मन्दिरहरु र पण्डालमा समेत भव्य आकर्षक बिजुली बत्ती डेकोरेसन जडान गरिनेछ । सप्ताहव्यापी महायज्ञ १५ गते बालाचतुर्दशी दिन सतबिज रोपण पश्चात् समापन हुने बताइएकोछ ।

प्रकाशित मिति : कार्तिक २८, २०८१ बुधबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]