बैशाख २०, २०८२ शनिबार

अभावलाई मध्यनजर गरेर रक्तदान गरौं

सम्पादकीय

झापामा अहिले रगतको अभाव भएको समाचार प्रकाशन तथा प्रशारण भएको छ । ‘रक्तदान, जीवन दान हो’ भन्ने मुल मान्यतालाई आत्मसाथ गरेर रक्तदानमा प्राथमिकता दिने समय आएको छ । बढ्दो सडक दुर्घटना, डेंगु र विभिन्न प्रकारका विरामीहरु बढ्दै गइरहेकाले रगतको खपत पनि बढेर गएको छ । त्यस प्रकारका विरामीहरुलाई रगतको आवश्यक पर्ने भएकाले खपत बढेको हो । खपत बढेपछि जिल्लामा रगतको अभाव भइरहेको छ । यहाँ स्वास्थ्य संस्थाको संख्या ठुलो छ । दैनिक रगतको माग बढ्दो छ । रगतको माग अनुसार रक्तदान नहुँदा अभाव व्यहोर्नु परेको हो ।

हरेक व्यक्तिले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको खण्डमा रक्तदान गर्न सकिन्छ । रगत दान गरेको खण्डमा जीवन दान नै हुनेछ । जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । झापा रेडक्रसको सूचना अनुसार रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा शुक्रवारसम्म ६६ यूनिट मात्र रगत मौज्दात रहेको थियो । यो परिमाणले एक दिन पनि धान्न कठिन छ । यसैले सबैले रक्तदानमा ध्यान दिऔं । रक्तदान गर्नेहरु प्रायःविगतमा दिइरहेका व्यक्तिहरु हुनुहुन्छ । रक्तदानका लागि नयाँ रक्तदाताको पनि खाँचो छ ।

दुर्घटना, डेंगुसँगै क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुन्छ । जसका कारण खपत पनि बढि हुन्छ । साउन, भदौ र असोजमा मात्र चार हजार दुई सय ८५ युनिट रगत खपत भयो । चाडवाडका कारण रक्तदानका कार्यक्रमहरु नहँुदा अभाव भएको हो । यसैले रगतको अभावलाई मध्यनजर गरी सामाजिक संघ संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गनुपर्छ । झापामा सबैभन्दा बढी ‘ओ’ पोजेटिभ रगत खपत हुने गरेको छ । तत्काल रगतको अभाव भएको खण्डमा खोजी गरेर व्यवस्थापन गर्ने गरिएको छ । अब, सबै रक्तदाताले आफु रगत दान गर्न तयार भएको हो भने नजिकैको केन्द्र गएर रक्तदान गरौं । मेरो रगतले एउटा विरामी बचाउन सकिन्छ भन्ने बुझौं ।

प्रकाशित मिति : मंसिर २, २०८१ आईतबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]