बैशाख २०, २०८२ शनिबार

प्रसूति सेवा लिने १ सय पुगेपछि बिर्तामोड नगर अस्पतालका कर्मचारीलाई सम्मान

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा प्रसूति सेवा लिनेको संख्या एक सय पुगेको छ । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बढ्दै गएको हो । अस्पतालमा आज तीन जना सुत्केरीलाई डिस्चार्ज समेत गरिएको थियो ।

आज एक कार्यक्रमको आयोजना गरी प्रसूति सेवा दिने कर्मचारीहरुलाई सम्मान गरिएको छ । प्रसूति इञ्चार्ज ओमकुमारी गुरुङको नेतृत्वमा सञ्चालित उक्त सेवालाई आगामी दिनमा थप प्रभावकारी र व्यवस्थित बनाइने बताइएको छ ।

गत आर्थिक वर्ष २०८०-८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता गरी १०० जनाले नर्मल डेलिभरी सेवा लिएको नगर अस्पतालले जनाएको छ । अस्पतालकी सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि न्यानो झोलासमेत प्रदान गरिदै आएको जानकारी दिइन् । झोलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक एक थान उपलव्ध गराउने गरिएको छ ।

सम्मान कार्यक्रमको प्रमुख अतिथि वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीले सेवालाई प्रभावकारी बनाउदै आम नागरिकको भरोसा नगर अस्पताल बनाउन आग्रह गरे । कर्मचारीहरुलाई सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै स्थानीय सरकारको तर्फबाट सबै प्रकारका सहयोग गर्न तयार रहेको बताए ।

अस्पतालका मेसु डा. सुनिल अधिकारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख टिका अधिकारीले गरेकी थिइन् । कार्यक्रममा स्वास्थ्य शाखाबाट संगिता अधिकारी, अस्पतालमा सेवारत डाक्टर,कर्मचारी लगायतको आतिथ्यता रहेको थियो ।

नगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई एक हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुको लागि ८ सय रुपैयाँ थप गरि १८ सय रुपैयाँ प्रदान गर्दै आएको छ । अस्पतालले नर्मल डेलीभरी सेवालाई २४ सै घण्टा उपलव्ध गराउदै आएको बसन्त ढकालले जानकारी दिए ।
उनका अनुसार नगर अस्पतालमा फिजिसियन, बालरोग, मनोरोग, वाथरोग, स्त्री तथा प्रसूति रोग, हार्डजोर्नी तथा नशा रोगलगायत विभिन्न रोगका विशेषज्ञहरुको सेवा उपलव्ध रहेको छ ।

प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]