नयाँ पुस्तामा छैन सारंगी पेशामा आकर्षण
झापा । झापामा गन्दर्भहरुको ठुलो बस्ती रहेको कचनकवलमा अहिले सारङी बजाउनेहरुको संख्या घट्दै गइरहेको छ । सारंङी बजाएर घर घान्न नसकेपछि उनीहरु अन्य पेशा, मजदुरीमा लाग्न थालेको पूर्वाञ्चल गन्दर्भ सांस्कृतिक उत्थान समाजका अध्यक्ष रविन गन्धर्भ बताउछन् ।
पुर्खाले सारङी बजाएर धानेको परिवारमा हिजोआज जीवन चलाउन नयाँ पेशा व्यवसाय अपनाउनुपर्ने बाध्यता आएको उनको भनाई छ । गन्दर्भ परिवारका सदस्यहरु स्थानीय चिया बगानमा काम गर्न जान थालेका छन् । कतिपय युवाहरु वैदेशिक रोजगारीमा गइरहेका छन् । कचनकवल २ मा रहेको गन्दर्भ वस्तीमा अहिले ५१ भन्दा धेरै परिवार छ । संख्याका हिसावले २१२ जना गन्दर्भहरुको बसोबास रहेको छ ।
सो क्षेत्रमा कला संस्कृतिको जगेर्णा र नयाँ पुस्तालाई सारङी बजाउन सिकाउने उद्देश्यसहित स्थापना गरिएको उत्थान समाजले तीन तहका सरकार र सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्दै आएको छ । समुदायको उत्थानका लागि आवश्यक सहकार्य गर्दै आएको बताइएको छ ।
सारङी बजाउनेहरुलाई हेर्ने दृष्टिकोण नै राम्रो छैन, आत्मसम्मान नै नभएपछि नयाँ पुस्ता सारङी छोडेर विदेश पलायन हुन बाध्य छन्, रविन भन्छन्, – तत्कालिन राजा महेन्द्रले बसाएको बस्तीमा धेरै परिवारले सारङी बजाउन छोडिसकेका छन् । सडकमा रुमाल ओच्छ्याएर सारङी बजाउँनुपर्दा दुख लाग्छ ।
अध्यक्ष रविन गन्दर्भका अनुसार नयाँ पुस्ताले सारङी पेशा बिर्सिदै गएका छन् । उनी भन्छन्, बाउबाजेले सारङी पेशा नै अंगाल्नुभयो, अहिले गाउँमा बजाउनेको संख्या ३० जना पनि छैन । अहिले वैदेशिक रोजगारी र नजिकैको चिया बगानमा ज्यालामजदुरी काम गरेर गन्दर्भ समुदायले जीवन चलाउन थालेका छन् । २÷४ जना युवाले निजी स्रोतबाट शिक्षण पेशा गरिरहेको बुझिएको छ ।
सारङीमा भन्दा काठ मिस्त्री, ड्राइभिङ, राजमिस्त्रीमा आकर्षण बढिरहेको गन्दर्भ बस्तीमा सरकारले जनता आवासको घर बसालेको छ । ५० प्रतिशत परिवारले जनता आवास कार्यक्रम मार्फत घर पाएको अध्यक्षको भनाई छ । उनी थप्छन्, गाइने भनेर गलत हिसावले हेरेकै कारणहरुमा सारङीप्रति युवाहरुको आकर्षण घट्दै गइरहेको छ ।
सारङी बजाएर हिड्ने परिवारमा जिविका चलाउन, छोराछोरीको स्कुल फि बुझाउन कठिन हुन थालेको छ । अध्यक्ष भन्छन्, उच्च शिक्षा पढ्न नसकेपछि युवाहरु वैदेशिक रोजगारी जान थालेका छन् ।
स्थानीय सरकारले समुदायलाई वेवास्था गरेकोमा उनीहरुको गुनासो छ । विगतमा स्वास्थ्य बीमा गरेको गाउँपालिकाले यो वर्ष उक्त सुविधाबाट कटौती गरेको भन्दै गुनासो गरिएको हो । अध्यक्ष गन्दर्भले गाउँपालिकालाई स्वास्थ्य बीमा सेवाबाट कटौती नगर्न आग्रह समेत गरेका छन् ।
समुदायको सांस्कृतिक केन्द्र निर्माणपछि नयाँ पुस्तालाई सिकाउने योजना रहेको उनीहरुको तयारी छ । गन्दर्भ बस्तीलाई होमस्टेको रुपमा विकास गर्दै पर्यटकलाई बस्ती मै सारङी बजाएर पनि सुनाउने लक्ष्य राखेको अध्यक्षको भनाई छ । होमस्टे बनाउँदा आर्थिक उपार्जनमा सहयोग पुग्ने थियो, घरघर आगनमा बजाएर जानु नपर्ने थियो, रविनले भने – अघिल्लो पुस्ताले बजाउनुभयो, अब हाम्रो पुस्ताले बजाइरहने अवस्था छैन ।