इन्द्रचन्द्र क्याम्पसलाई क्यूएएका लागि पहल गर्छु : सभामुख घिमिरे
बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इन्द्रचन्द्र क्याम्पस बिर्तामोडलाई आधिकारिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्रका लागि पहल गर्ने बताएका छन् । क्याम्पसको आज आयोजित ११ औं क्याम्पस सभामा बोल्दै सभामुख घिमिरेले त्यसका लागि आवश्यक मापदण्ड पुरा गर्न आग्रह गरे ।
बिर्तामोड–६ मा रहेको क्याम्पसको ११ औं सभामा बोल्दै प्रमुख अतिथि सभामुख घिमिरेले शैक्षिक क्षेत्रमा इन्द्रचन्द्र शालिग्राम बनेको धारणा राखेका छन् । उनले शिक्षा क्षेत्रमा तीब्र प्रतिष्पर्धा भइरहेको बताउँदै सोही अनुसार मेहनत गर्न क्याम्पस परिवारलाई आग्रह गरेका छन् । सभामुख घिमिरेले भने, ‘विद्यार्थीहरु गुणस्तरीय र सुविधा सम्पन्न शैक्षिक संस्था खोजिरहेका छन् । त्यस अनुसार व्यवस्थापन मिलाउनुपर्छ ।’
शिक्षा र स्वास्थ्यमा हब बनेको बिर्तामोडमा अस्पताल, शैक्षिक संस्थाहरुबीच प्रतिष्पर्धा भइरहेको उनको भनाई छ । प्रतिष्पर्धाबाट उत्कृष्ट बन्न आग्रह गर्दै उनले यातायातको नाममा रुवाबासी नगर्न सचेत गराए । धेरै व्यापारी व्यवसायी र समाजसेवीहरु भएको बिर्तामोडमा यातायात व्यवस्थापनको लागि केही समस्या हुदैन, उनले भने– मेरोे क्षेत्रबाट मैले गर्न सक्ने सहयोग गर्ने नै छु । रुवाबासी गर्न जरुरी छैन ।
शिक्षा क्षेत्र पुरानै नीति अनुसार चलिरहेको भन्दै सभामुख घिमिरेले शिक्षा विद्येयक छिट्टै पास गरेर ऐन निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।
क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले क्याम्पसले गरेको प्रगति र आगामी चुनौतिहरु समेत सार्वजनिक गर्दै घट्दो विद्यार्थी संख्या प्रति सरोकारवालाको ध्यानाकर्षण गराए । भौतिक पूर्वाधारमा सम्पन्न भएर पनि यातायात सुविधा नहुँदा विद्यार्थीहरु भर्ना गराउन नसकेको बताएका छन् । उनले क्यूएए पाएपछि क्याम्पसले नयाँ फड्को मार्ने बताउदै अन्य शंकायहरु समेत थप गर्नुपर्ने माग राखे ।
सो अवसरमा जग्गादाता, अक्षयकोषका दाताहरु, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ ।
क्याम्पसका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, शनिश्चरे क्याम्पसका प्रमुख मोहन ओली, बिर्तामोड ६ का वडाध्यक्ष सुर्य कन्दङ्वा, एकीकृत समाजवादीका बिर्तामोड इञ्चार्ज श्रीप्रसाद मिश्र, स्ववियु सभापति पवन दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्याम्पस सञ्चालक समितिका सदस्य एवम् जग्गादाता राजेन्द्र थापाले स्वागत गरेको कार्यक्रममा ‘इन्द्रचन्द्र दर्पण’ विमोचन गरिएको छ । प्रमुख अतिथि घिमिरेसहित अतिथिहरुले विमोचन गरेको प्रशासन प्रमुख बद्री भट्टराईले जानकारी दिए ।