बैशाख २३, २०८२ मंगलबार

एमालेले जनसभामा ५० हजार कार्यकर्ता उतार्ने

काठमाडौँ, मङ्सिर ६ गते । नेकपा (एमाले) ले बिहीबार आयोजना गर्न लागेको जनसभामा ५० हजार कार्यकर्ता उतार्ने भएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरूक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताउनुभयो।

प्रमुख गौतमले भन्नुभयो, “भोलिको जनसभाको अन्तिम तयारी पुरा भइसकेको छ। यो मूलतः, हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरण गर्ने कार्यक्रम हो।”

उहाँले जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “त्यसका लागि काठमाडौँ, भक्तपुर र ललितपुर, नगर र गाउँपालिका, जनसङ्गठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ। भोलि चाहिँ लक्षित ५० औँ हजार मानिसलाई सडकमा उतार्ने गरी कार्ययोजना अगाडि बढाएका छौँ।”

उहाँले ट्राफिक कम तथा पुतलीसडक र लैनचौर मार्ग खुला रहने गरी दरबारमार्गमा सभा हुने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “दुवैतिरका सडकहरू, पुतलीसडक उता लैनचौर मार्ग चाहिँ खुला गर्ने गरी दरबारमार्गमा कम ट्राफिकिङ हुने भन्ने कुरा पार्टीको स्थानीय जनता, साथीभाइको सुझाव समेत ध्यानमा राखेर भद्रकालीमा ११ः३० बजे भेला भएर वीर अस्पताल हुँदै दरबारमार्गमा भेला हुने र कार्यक्रम गर्ने।” उहाँले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताउनुभयो।

उहाँले भन्नुभयो, “विधिको शासन र कानुनी राजको पक्षमा नेकपा (एमाले) दृढतापूर्वक उभिन्छ। कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्छ भन्ने हाम्रो सन्देश हो।”

प्रकाशित मिति : मंसिर ६, २०८१ बिहीबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]