बैशाख २०, २०८२ शनिबार

किर्ते हस्ताक्षर गरेर पैसा चलाउनेमाथि कानुनी कारबाही हुनुपर्छ

सम्पादकीय
झापाको बाह्रदशीमा रहेको अदुवा खोला सिँचाई आयोजनाभित्र नेतृत्वले गरिरहेको मनपरी सार्वजनिक भएको छ । नेतृत्वले आफु खुशी संस्थाको लाखौं रुपैयाँ व्यक्तिगत प्रयोजनमा खर्च गरेको भेटियो । आयोजनाका अध्यक्ष बृखबहादुर थापा (दिनेश), सचिव प्रकाश पाठक र कोषाध्यक्ष लोकनाथ ओलीले १७ लाख ५४ हजार रुपैयाँ व्यक्तिगत खर्चका लागि निकासा गरेर चलाएको उपभोक्ताहरुले बताइरहेका छन् । आयोजनाका अध्यक्ष थापाले १० लाख ५४ हजार मात्र तीन जना मिलेर चलाएको स्वीकार गर्दै आएका छन् । हरहिसावको पाटो थप अनुसन्धानपछि सार्वजनिक हुने नै छ । किसानको निम्ति स्थापित आयोजनामा नेतृत्वबाटै भएको यो कार्य क्षमायोग्य छैन ।

सिँचाई आयोजना किसानको आयोजना हो । यहाँको सम्पत्ति, बजेट किसानको निम्ति हो । सिँचाई सहजीकरणका लागि आयोजनाले बजेट प्राप्त गर्ने हो । तर, सो बजेट नेतृत्वले आफ्नो व्यक्तिगत प्रयोजन गर्नु कारबाही योग्य छ । अध्यक्षले भाईका लागि, सचिवले भाईलाई अष्टे«लिया उढाउनका लागि र कोषाध्यक्षले व्यापारमा लगानी गर्न पैसा चलाएको स्पष्ट छ । उपभोक्ताहरुमाथि अन्याय हुने यो क्रियाकलापमाथि स्थानीयस्तरमा मात्र होइन, राज्यकै निकायबाट अनुसन्धान हुन आवश्यक छ । अदुवा खोला सिँचाई आयोजनालाई व्यक्तिगत कम्पनी जस्तो गरेर चलाउनेहरुलाई कानुनी दायरामा ल्याउनुको विकल्प छैन ।

गाउँमा रहेको आयोजनालाई किसानमैत्री कार्यक्रम सञ्चालन गरेर उदाहरण पेश गर्नुपर्ने युवा नेतृत्वको भित्रिया व्यवहारले समग्र बाह्रदशी र हल्दिवारीका उपभोक्ताहरुलाई दुखी बनाएको छ । मानवीय संवेदनालाई ख्याल गरेर सरसपाट गर्ने कुराहरु अपराध हुन सक्दैनन् । तर, कार्यसमितिका अधिकांश सदस्यहरुको हस्ताक्षर नै किर्ते गरेर उपभोक्ताको आँखा छल्नु अपराध नै हो । कतिपयलाई लाग्न सक्छ, गाउँको कुरा गाउँमै मिलाऔं । त्यो मानसिकता बन्यो भने गाउँमा भ्रष्टहरुको जन्म रोकिने छैन । इमान्दार किसानहरुमाथि सधैं अन्याय भइरहने छ । यसैले यो विषयमा उपभोक्ताले तत्काल भेला आयोजना गरेर कानुनी कारबाहीको लागि तयारी गर्नुपर्छ । सुशासनको ठुलो आवाज उठाएर कालो कर्तुतमा लिप्त हुनेहरु कसैलाई पनि उन्मुक्ति दिन हुदैन । यस तर्फ गाउँपालिका, स्थानीय राजनीतिक दल, उपभोक्ताहरु, सामाजिक संघ संस्था र सचेत नागरिकले ध्यानाकर्षण हुन जरुरी छ ।

प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]