अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण शुरू
बिर्तामोड । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञ शुरु भएको छ ।
आचार्य दुर्गाप्रसाद खतिवडाले सामूहिक संकल्प गरी शुरू गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायणमा अष्टोत्तोरशत् १०८ आचार्यले अष्टोत्तोरशत् १०८ यजमानलाई श्रीमद् भागवत पाठ सुनाउने कार्यक्रम रहेको मूल अर्चक अग्नीप्रसाद सिग्देलले बताए। यजमानहरूले आफ्ना पितृहरुको तस्विर राखेर पितृ उद्दारका लागी श्रीमद् भागवत पाठ श्रवण गर्ने उनको भनाई छ।
पूर्वमै पहिलो पटक आयोजित अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा पूर्व मुख्यमन्त्री उद्दव थापासहित बिभिन्न जातजातिका यजमानहरूको सहभागिता रहेको छ।
आचार्य दुर्गाप्रसाद खतिवडाको आचार्यत्वमा पॉच जना पंडितसहित ५१ जना बटुकहरूले शत्चण्डी पाठ र लक्ष्य हवन गरिरहेको मूल अर्चक अग्नीप्रसाद सिग्देलले बताए।
महायज्ञको उद्घाटन विश्वब्यापीरुपमा ख्याति कमाएका प्रख्यात हिन्दू धर्मगुरु श्री १००८ स्वामी कालीबाबा र श्रीकृष्ण प्रणामी धर्मका मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्यले गरेका थिए।