निराशा हटाउन प्रतिबद्धता पुरा गर
सम्पादकीय
मुलुकमा अहिले आशाभन्दा आक्रोस् र निराशा ज्यादा छ । अझ राजनीति दलहरुप्रति आम नागरिकको आक्रोस असिमित छ । आशा जगाउनेहरु पनि आक्रोसित भीडको निशानामा परेका छन् । पुराना राजनीतिक दलहरुसँगको आक्रोस मात्र छैन । यहाँ नयाँ राजनीतिक दलहरु प्रति पनि नागरिकले भरोसा गर्न छोडिसके । देशमा ठगीको विगविगी नै छ । राजनीतिक दल र त्यसमा आवद्ध नेता कार्यकर्ताहरु प्रतिरक्षामा व्यस्त बन्नुपरेको छ । ठुलो दल होस् वा सानो दल होस्, सबै आफ्नो बचाउमा उत्रिएका छन् । पुरानो दल भनिएको कांग्रेस र नयाँ दल भनिएको रास्वपासम्म आफ्नै बचाउनमा छन् । नागरिकको जीवन बचाउने तर्फ ध्यान पुग्न सकेको छैन ।
सरकारले नयाँ शैलीबाट नयाँ काम गर्न सकिरहेको छैन । पुरानै शैलीबाट सरकारअघि बढेको छ । सरकारले कुनै काम अघि बढाइहालेमा त्यसको तत्कालै विरोध पनि हुने गरेको छ । युवा जति वैदेशिक रोजगारीमा गएका छन् । अध्ययनका शिलशिलामा तेस्रो मुलुक जानेहरु पनि स्वदेश फर्किने संभावना कम छ । विदेशमा बसेर दुख गर्नेहरुलाई देशको अवस्था देखेर तनाव हुन्छ । जसका कारण नेताहरुप्रति खनिइरहेका छन् । देशमा काम गर्नेहरुलाई पनि उत्तिकै कठिनाई छ । जहाँ बसे पनि देशको माया हुन्छ । तर, पछिल्लो समय सभ्यता र संयमता नदेखाइरहेको स्पष्ट हुन्छ ।
एमाले–कांग्रेसको सरकार बनेपछि के पाइयो र ? भन्नेहरु छन् । कुनै पनि सरकारले नागरिकलाई घरघरमा केही ल्याइदिने होइन । नीतिगत रुपमा देशलाई ठिक ढंगबाट अघि बढाउने हो । नीति निर्माणमा सरकारको कौशलता देखियो भने नागरिकको जीवनमा त्यसको सकारात्मक फाइदाहरु देखिने हो । त्यसका लागि सरकारमा भएको र नभएका दलहरुबीच सहकार्य पहिलो आवश्यक विषय हो । दलहरुले निर्वाचनका बेला गरेको प्रतिवद्धता बिर्सेका कारण अहिलेको परिस्थिति भोग्नु परेको छ । निर्वाचनका बेला गरिएका प्रतिवद्धता मात्र पुरा गर्ने हो भने बढ्दो निराशा हट्ने निश्चित छ ।