समाजसेवी सहकारीले मानवता देखाओस्
सम्पादकीय
सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका कयौं विकृति र वेथितीहरुबाट सदस्यहरु पीडामा छन् । सञ्चालकहरुको कमजोर सञ्चालन र लापरबाहीले धेरै जसो सहकारीहरु अस्तव्यस्त बनेका छन् । समग्र सहकारी क्षेत्रमा सहकारी सिद्धान्त, मुल्य मान्यता बमोजिम सञ्चालन हुने संस्थाहरु सिमित छन् । विकृतपूर्ण सहकारीहरुका कारण ठिकै ढंगबाट सञ्चालित सहकारीहरु पनि त्यसको मारमा परेका छन् । सहकारीमा विभिन्न उद्देश्यले बचत गरिएको रकम सदस्यहरुले सहजै चलाउन पाउन अवस्था छैन । सहकारीहरुले आफू खुशी, बचतकर्ता रकम नै असुरक्षित हुने गरि लगानी गर्दा कयौं सदस्यहरु त्यसको मारमा परेका छन् ।
त्यसको एउटा प्रतिनिधिमुलक घटना बिर्तामोडको समाजसेवी बहुउद्देश्यीय सहकारीलाई लिन सकिन्छ । बिर्तामोड १ मा रहेको संस्थाले आफ्ना सेवा केन्द्रहरु लगभग बन्द गरिसकेको अवस्था छ । संस्थाको कार्यालयमा भर्खरै जिम्मेवारी प्राप्त गर्ने अध्यक्ष विष्णु अधिकारीलाई भेटिन्छ । तर, उनी संस्थामा जिम्मेवार छैनन् । अध्यक्षको जिम्मेवारी भए पनि व्यवहारिक रुपमा उनको हातमा केही छैन । तीन महिनाअघि अध्यक्ष भएर आएका उनले संस्थाबाट १ रुपैयाँ कर्जा लगानी गरेका छैनन् । बरु, ७२ लाख रुपैयाँ सदस्यहरुको बचत रकम फिर्ता गरेको उनको दावी छ ।
बिर्तामोड ४ मा डेरी गरि बस्दै आएका एक दम्पत्तिले समाजसेवीमा २० लाख रुपैयाँ बचत गरेका छन् । ०७८ सालमा बचत गरेका दम्पत्तिलाई छोरी ज्वाईले उपचारका लागि जम्मा गरिदिएका हुन् । सहकारीको ५ वर्षे खातामा राखिएको छ । अहिले ति दम्पत्ति विरामीको विरामी भएको अवस्था छ । हप्तैपिच्छे अस्पताल बस्दा लाखौं रुपैयाँ खर्च भइरहेको छ । दुई दिनअघि मात्रै खाताधनीको श्रीमान हेमबहादुर रायलाई २ लाख ३१ हजार रुपैयाँ बुझाएर विएण्डसीबाट आफन्त, छरछिमेकले डिस्चार्ज गरे । सहकारीलाई बारम्बार अस्पतालमा पैसा ल्याइदिन आग्रह गर्दा, विरामी परिवारले आफ्नै पैसा माग्दा समेत उपलब्ध गराइएन । सहकारीले सामान्य मानवता समेत देखाउन सकेन । सदस्यको जीवनमा कुनै योगदान गर्न नसक्ने सहकारी हुनु र नहुनुले केही अर्थ राख्दैन । समाजसेवी सहकारीभित्र अनेक शंका उब्जेको छ । यसअघिका नेतृत्वहरुको कार्यकालमा भएका कारोवारहरुको समेत छानविन गर्न जरुरी देखिएको छ । तत्काल सदस्यहरुको बचत रकम फिर्ता गर्ने सन्दर्भमा सहजीकरण गर्नुपर्ने आवश्यकता छ । बचत र कर्जा लगानीको यथार्थ अध्ययन गर्न सरोकारवालाले ध्यान दिनुपर्छ । ध्यान दिइएन भने बचतकर्ताको बचत असुरक्षित हुने निश्चित छ ।