गौहत्या गर्नेलाई कानुनी कारबाही होस्
सम्पादकीय
झापाको कनकाई नगरपालिमा मंगलवार गाई काटेको घटना रातीसम्म सेलाएन । दिनभर तनावग्रस्त बनेको कनकाई गाई पुरेपछि सामान्य बन्यो । गाई काटेको स्थान अर्थात घटनास्थलदेखि कोटिहोमसम्म पुग्दा तनावैतानव रहिरह्यो । घटनास्थलमा आक्रोसित स्थानीयले प्रदर्शन गरे । सुरुङा चोकमा पनि सडक अवरुद्ध हुने गरि विरोध गरियो । केही समयपछि सुरुङा चोक क्षेत्र शान्त बन्दै थियो । पुनः कोटीहोम क्षेत्रमा हिन्दुवादी अगुवाहरुको समेत सहभागितामा चक्काजाम भयो । स्थानीयबासीले गौहत्याको विरोध जनाइरहे । भीडभाड र वातावरण नै अशान्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
गौहत्या कानुनी कारबाहीको विषय हो । गौहत्या क्षमायोग्य पनि छैन । राष्ट्रिय जनावर गाईलाई काटेर मासु खानेकुरा कल्पना भन्दा बाहिरको विषय बन्नुपर्ने हो । गाईलाई लक्ष्मीको रुपमा पुजा गरिन्छ । गाई मात्र होइन, पशु हत्याको विषय नै विरोध भइरहेको छ । गाई हत्याको विषय झनै अमान्य छ । चोरी गरेर गाई काट्ने कार्यमा संलग्न जो कोहीलाई कानुनी कारबाही हुनुपर्छ । दोषीको अनुहार हेर्न जरुरी छैन । गाई काटियो, काट्नेलाई कारबाहीको विषय अवश्य छ । त्यही विषयलाई उचालेर वातावरणलाई धुमिल बनाउन हुदैन । सुरुङामा गाई कातियो, प्रधानमन्त्री विरुद्ध नारावाजी लाग्छ । त्यो समय भनेको जिन्दावादर मुर्दावादको समय होइन ।दोषीलाई कानुनी कारबाहीसम्म पुराउन सरोकारवालाई सहजीकरण गर्नुपर्छ ।
झापामा नेपालकै ठुलो गौ संरक्षण केन्द्र छ, सताक्षीधाममा । गौ संरक्षकहरुले एक दिनअघि मात्रै गौहत्या र विक्री वितरण, तस्करीको विरोध गरेका थिए । त्यसको भोलीपल्ट भएको घटना रहस्यमय पनि छ । जातीय र धार्मिक एकतालाई तनावमा धकेल्ने प्रयास कसैबाट हुनुहुदैन । अहिले देश अप्ठ्यारो अवस्थामा छ । जातजाति, धर्मसंस्कृतिबीच लडाई गर्न हुदैन । कसैले कसैमाथि पनि अपाच्य कामहरु गर्न हुदैन । गाई काट्ने विषयलाई जो कोहीले निरुत्साहित गुर्नुपर्छ । यस प्रकारका घटनाहरु फेरि नदोहोरियोस् । हरेक हिसावले मिलेर बसेको समाजलाई भड्काउने काम तत्काल बन्द हुनुपर्छ ।