उर्जा बचतको संभावना खोज्दै उद्योगी–व्यवसायी
मेचीनगर । उर्जा सम्बन्धी आयोजित एक कार्यक्रममा बक्ताहरुले झ्याप्प–झ्याप्प विजुली गइरहने र भोल्टेज तलमाथि हुने समस्याले उद्योगीहरुले उर्जा व्यवस्थित गर्न नसकेको बताएका छन् ।
बुधबार मेची उद्योग बाणिज्य संघको हलमा राष्ट्रिय उर्जा दक्षता केन्द्र काठमाडौँको आयोजनामा ‘उद्योगमा उर्जा दक्षताको प्रवद्र्धन र अवसर’ विषयक कार्यशाला गोष्ठीका व्यवसायी र कर्मचारीहरुले झ्याप्प झ्याप्प वत्ति गइरहने र भोल्टेज तलमाथि हुने समस्याका कारणले उर्जा बचत गर्न नसकेको बताएका हुन् ।
‘झापाका उद्योगहरुमा भोल्टेजको समस्या छ’, इलेक्ट्रिक इन्जिनियर अमोनेन्द्रप्रसाद विश्वासले भने, ‘उद्योगीहरुलाई प्राविधिक कुराको ज्ञान छैन । स्वीच अन गर्ने वित्तिकै मिसिन चल्नु पर्यो । भोल्टेज वा अन्य केहि प्राविधिक समस्या हुनसक्छ । त्यता उनीहरुलाई ध्यान हुँदैन । थाहा हुँदैन । बास चल्नु पर्यो, वत्ति बल्नु पर्यो ।’
इलेक्ट्रिक इन्जिनियर विश्वास भारत सिलीगुडी निवासी हुन् । उनी हाल कनकाई प्याउड उद्योगमा काम गरिरहेका छन् । उनी ९ वर्षदेखि झापाका विभिन्न उद्योगमा रहेर काम गरिसकेका अनुभवी मेकानिक हुन् ।
यस्तै कार्यक्रममा धाइजनस्थित रितिका डेरीका सञ्चालक योगेन्द्र चिमरियाले उद्योगमा खपत हुने डिजेल, दाउरा, विद्युत लगायतका उर्जालाई बचत गर्न र चुहावट हुन नदिन सचेत हुनुपर्ने बताए । उनका अनुसार त्यसका लागि उर्जा, वातावरण सम्बन्धी लेखा परीक्षण समेत गर्नुपर्छ ।
राष्ट्रिय उर्जा दक्षता केन्द्रले युरोपका ठुला देशसँग सहकार्य गरेर नेपालका ठुला–ठुला कम्पनीको ईनर्जी अडिट गरिरहेको छ । केन्द्रले झापाको रितिका डेरीको पनि ईनर्जी अडिट गरिरहेको सञ्चालक चिमरियाले जानकारी दिए ।
ईनर्जी अडिटका लागि एनएमसी डेरीका कर्मचारी र सञ्चालकहरुले केन्द्रका ईन्जिनियरहरुसँग छलफल भइरहेको बताइएको छ ।
उद्योग, धन्दामा आवश्यकता भन्दा बढी खपत हुने उर्जालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने उदेश्यले मेची उद्योग बाणिज्य संघको सहजीकरणमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले स्वास्थ्य जाँचका लागि मानिसको शरिर होलबढी जाँच गरे जस्तै उद्योगको उर्जा चुहावट नहोस् भनेर ईनर्जी अडिट गरिने बताए ।
कार्यक्रममा राष्ट्रिय उर्जा दक्षता केन्द्रका प्रमुख अम्रित अभमनी ढकाल, ईन्जिनियर आयुष अधिकारीले उद्योगमा विभिन्न कारणले चुहावट भइरहेको उर्जालाई न्युनिकरण तथा विद्युत बचत गर्न सकिने उपायाका बारेमा प्रोजेक्टर मार्फत प्रस्तुत गरेका थिए ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा सम्पन्न एकदिने कार्यशाला गोष्ठीमा प्रसाईले उर्जा खपत र बचतका बारेमा उद्योग सञ्चालकलाई थाहा नहुँने बताए । उनले उर्जा चुहावट रोक्न के गर्न सकिन्छ त्यसका बारेमा उद्योगमा अपरेटर वा प्राविधिकलाई यस विषयमा ज्ञान दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा मेची उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष भूमि पौडेल, पूर्व अध्यक्ष ऋषिराज तिम्सिना लगायत झापाका उद्योगी व्यवसायी, कर्मचारी र प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
मेची उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक गोपाल बस्नेतले गरेका थिए ।