दक्षिणाको खाम आश्रमको सेवाका लागि फिर्ता
काठमाडौँ । मानवसेवा आश्रमले सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रको भवन निर्माणका लागि श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो ।
महायज्ञ मंसिर २१ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्लामञ्चमा सञ्चालन हुनेछ । आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका-११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ विघा जग्गा प्रदान गरेको थियो । महायज्ञ मूल आयोजक समितिका संयोजकमा डा. नवराज केसीका अनुसार महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणका लागि भने ८ देखि १० करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।
सुर्खेत सेवाकेन्द्रको भवन निर्माणका लागि आयोजना हुन लागेको यस पटकको महायज्ञमा पनि भागवत भाष्कर कमलनयनज्यूले कथावाचन गर्नुहुने कार्यक्रम रहेको छ । उँहाले मानवसेवा अश्रमको अनुरोधलाई सहर्ष स्वीकार गर्दै कथावाचन गर्दै आइरहनुभएको छ । पहिलो पटक उहाँले लमजुङमा सञ्चालन भएको महायज्ञमा कथावाचन गर्नुभएको थियो ।
बेला मौसममा विभिन्न स्थान र समयमा हुने महायज्ञ र धार्मिक अनुष्ठानहरुमा कथावाचकहरुले महायज्ञबाट संकलन भएको दानको यति प्रतिशत माग गरे, त्यति प्रतिशत लगे भन्ने जस्ता कुराहरु हामीले सुन्दै आइरहेका छौँ ।
आश्रमले भवन निर्माणका लागि मानवताप्रेमी सबै परोपकारी मनहरुलाई जुटाउन महायज्ञको आयोजना गर्ने गर्दछ, जसमा प्रमुख कथावाचकको लागि आदरणीय गुरू कमलनयन गौतमलार्इ अनुरोध गर्ने गरिन्छ । धेरै ठाउँहरुमा यज्ञको शुभारम्भमै गुरु र कलाकारहरुबीच दक्षिणार पारिश्रमिक तय गरिएको हुन्छ भन्ने कुरा जनमानसमा सुनिँदै अएको छ ।
तर यज्ञकै समयमा सोदमला भनेर यज्ञ शुभारम्भ हुँदा र गुरु बिदाई गर्नु अगाडि नै महायज्ञ मूल समारोह समितिका पदाधिकारीहरु गौतमज्यूलाई दक्षिणा दिँदा उहाँले आफै मानवसेवा आश्रमको सेवामा यति धेरै दाताहरुले नगद र जिन्सी दान गर्नुभएको छ र यस महाअभियानमा मेरो पनि सहभागिता हुनुपर्छ भन्दै अर्पण गरेको दक्षिणाको खाम अश्रमको सेवाका लागि भनेर फिर्ता गर्नुहुन्छ ।
सबैलाई अनौठो लाग्न सक्छ आजसम्म आश्रमले गरेके महायज्ञको रकम गौतमज्यू लिनु भएको छैन । धेरैलाई विश्वास नलाग्न पनि सक्छ कि मानवसेवा आश्रमको आयोजनामा यसअघि ५ वटा यज्ञको प्रमुख वाचकको भूमिमा रहनुभएका आदरणीय गुरु कमलनयन गौतमज्यूले दक्षिणा सबै आश्रमलाई सेवा सहजीकरणका लागि फर्काउनु भएको हो ।
परेपकारी मनका धनी वरिष्ठ कथावाचक गौतमज्यूको नेतृत्वमा पोखरामा पुष्करिणी परोपकार गोकुलधाममा सडकपेटीमा छाडिएका सयौँ गाईहरुको संरक्षण र पालनपोषण सेवा भईरहेको छ ।
साथै उहाँले सिद्द परोपकार वैदिक गुरुकुल आश्रम र विध्यालय संचालन गरिरहनु भएको छ साथै उहाँले थुप्रै स्थानहरुमा जेष्ठनागरिक दिवा सेवाकेन्द्र लगायतका परोकारी अभियानहरुको नेतृत्वसँगै मानवसेवा आश्रमको सेवामा अभिभावकत्व प्रदान गर्दै आईरहनु भएको छ ।
नाथैनाथले बास गरेको हाम्रो देश नेपालका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कसैले पनि अनाथ भएर सडकपेटीमा बस्न नपर्ने अवस्था निर्माण गर्ने संङकल्पका साथ स्थापना भएको मानवसेवा आश्रम र आश्रमको भवन निर्माण गर्ने उद्देश्यले मंसिर २१ देखि २८ गतेसम्म सुर्खेतमाल सञ्चालन हुन लागको महायज्ञमा तन मन धनको त्रिवेणीबाट सहभागिता जनाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने यो महाअभियानमा योगदान गर्न कमल नयन गौतमज्यूले परोपकारी सम्पूर्ण मनहरूमा अनुरोध समेत गर्नुभएको छ ।