बैशाख २३, २०८२ मंगलबार

दालीब ललिपपको बद्नाम गर्न भ्रम फैल्याइयो : उद्योगी

बिर्तामोड । सामाजिक सञ्जालहरुमा ललिपपभित्र फलामजन्य पत्ति परेको विषयलाई लिएर उद्योग सञ्चालकले आफ्नो उत्पादनमाथि भ्रम फैलाउने प्रयास भएको बताएका छन् ।

झापाको अर्जुनधारा –६ मा रहेको द एभरेष्ट मिठाई उद्योगले उत्पादन गर्दै आएको ‘ललिपपभित्र फलामको पत्ति फेला’ परेको भन्दै सामाजिक सञ्जालहरुमा फैल्याइएको छ । सञ्जालहरुमा द एभरेष्ट मिठाई उद्योगले उत्पाद गरिरहेको दालीब इलामेली ललिपपको तस्वीर राखेर भ्रम फैलाउने काम भइरहेको सञ्चालक डिबी बस्नेतले जानकारी दिए ।

आफ्नो उत्पादनमाथि भ्रम फैलाएपछि सञ्चालकले आज साँझ उद्योग परिसरमा पत्रकार सम्मेलन गर्दै गलत मनसाय र नियत राखेर ललिपप उद्योगको बद्नाम गराउने प्रयास भएको बताए ।

सामाजिक सञ्जालहरुमा अर्जुनधारा जलेश्वर धाममा एक बालकले ललिपपभित्र धारिलो फलाम वा अन्य धातुको टुक्रा फेला परेको भन्दै पोष्ट गरिएको भेटिएको छ । फेसबुकका विभिन्न पेजहरुले दाबीलको बजार विगार्ने नियतबाट यस्तो हर्कत गरिएको हुन सक्ने सञ्चालक बस्नेतको भनाई छ । उनका अनुसार हातले बनाइने ललिपपमा धारिलो हतियार हुनै सक्दैन । ‘हातले मसिनो बनाएर बेलिन्छ, ललिपपभन्दा ठुलो टुक्रा पस्ने कुनै संभावना नै हुदैन’ उनले भने, सञ्जालमा पोष्ट गर्नेहरुले बालकबाट भेटाएर पोष्ट नगरेको बताइरहेका छन् । फेसबुकमा भेटाएर रिपोष्ट गरिएको धेरैले प्रतिक्रिया दिइरहेका छन् । कतिपयले बद्नाम गर्ने नियतले पोष्ट गरेको रहेछ भन्दै हटाउन थालेको सञ्चालक बस्नेतले जानकारी दिए ।

विगत १२ वर्षदेखि व्यवसायिक क्षेत्रमा काम गर्दै आएका बस्नेतले मिठाईसँगै चिया प्याकेजिङ समेत गर्दै आएका छन् ।
उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, – दालीब इलामेली ललिपपमा धारिलो फलाम वा अन्य धातुको टुक्रा फेला परेको भनी गरिएको भ्रमपूर्ण प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्वीरमा ललिपपभित्र (प्याकेटभित्र होइन) पेपर कटर ब्लेड जस्तो देखिएको छ ।

ललिपप उत्पादन प्रयोजनका लागि हाम्रो उद्योगमा यस प्रकारका ब्लेड वा फलामजन्य कुनै धातु प्रयोग नहुने व्यहोरा जानकारी गराउन चाहन्छौं । यसअघि पनि दालीब इलामेली ललिपप डुप्लिकेट भन्ने हल्ला फैलाउने प्रयास गरिएको थियो । हाम्रो उत्पादनको लोकप्रियता देखेर आत्तिएको स्वार्थ समूहले हामीमाथि निरन्तर भ्रम सिर्जना गर्दै आएको छ । हामी यसप्रति खेद व्यक्त गर्छौं ।

पछिल्लो समय ललिपपभित्र त्यति ठूलो फलामकी टुक्रा वा ब्लेड भेटिएको भनी गरिएको प्रचार आफैमा नियोजित छ । किनभने, ललिपपभित्र फोटोमा देखिए जस्तो फलाम वा ब्लेड अट्न सम्भव छैन भन्ने विषय एउटा मान्छेले सजिलै बुझ्नुपर्ने हो । हाम्रो उत्पादन पूर्णत हातले बनाइन्छ । यस्तो अवस्थामा फलाम वा ब्लेड हातमा लाग्छ । त्यतिबेलै थाहा हुन्छ । विभिन्न सामाजिक सन्जालमा गरिएको पोस्टले पनि हामीमाथि नियोजित प्रचार गरिएको प्रष्ट छ ।

व्यवसायिक उत्पादनमा लागेका उद्योगले पनि स्वस्थ प्रतिस्पर्धा गर्ने बाटो रोज्नुपर्छ । अरुका उत्पादनलाई नियोजित रुपमा दुष्प्रचार गर्ने प्रयत्न भविष्यमा आफ्नै लागि घातक हुन्छ भन्ने हेक्का त्यस्ता उद्योगले पनि राख्नुपर्छ । हामी हाम्रो उत्पादनलाई गुणस्तरीय बनाउन सधैं संवेदनशील र गम्भीर छौं। यसर्थ, आमउपभोक्ता भ्रममा नपर्नु हुन सार्वजनिक रुपमा अपील र अनुरोध गर्दछौं ।

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]