‘राप्रपाले अब क्रियाशीलता बढाउनुपर्ने समय आयो’
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले २०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन् । आइतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले राप्रपाले अब क्रियाशीलता बढाउनुपर्ने समय आएको बताए । उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताए । उनले सकेसम्म २०८४ अगाडि नै र नभए २०८४ को निर्वाचनबाट देशको ठुलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे ।
अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस– नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरू खुसी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए । सरकारका प्रधानमन्त्री र मन्त्रीहरू चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको उनले बताए । कांग्रेस— एमाले र नेकपा (माओवादी केन्द्र) उनीहरूकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै उनले जनताले अब तीन वटै पार्टीलाई पूर्ण रूपमा चिनेको बताए ।
उनले भने, ‘हामीले आफ्नो क्रियाशीलता बढाउनुपर्ने समय आयो । हेर्नुस्, हामीले अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट हामीलाई छैन । अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ । प¥यो भने बिचमै, भएन भनेपनि ०८४ भन्दा त उता हामी जानै हुँदैन । ०८४ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्ने हो गर्ने हो ।’ अध्यक्ष लिङ्देनले राप्रपाले आफ्नो शक्ति चिन्न नसकेको बताए ।
आइतवार उद्घाटन शत्र सम्पन्न भएको छ । कार्यसमितिको अध्यक्ष पदमा ६ जनाले उम्मेद्वारी दिएको बुझिएको छ । २० गतेसम्म सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुने बताइएको छ ।
पूर्व अध्यक्ष रञ्जु प्याकुरेलले सर्वसम्मति नभए निर्वाचन प्रक्रियामा आफु समेत सहभागी हुने जानकारी दिइन् ।