लक्ष्मी आधारभूत विद्यालयमा १० लाखको अक्षयकोष
बिर्तामोड – बिर्तामोड नगरपालिका वडा नम्बर ७ को विरानमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा रु १० लाख रुपैयाँको अक्षयकोष जम्मा भएको छ ।
बिर्तामोड १ निवासी विष्णुप्रसाद भेटवाल र अमरदिप भेटवालले आज आइतबार सो विद्यालयमा आयोजित कार्यक्रममा दुई पक्षीय करारनामामा हस्ताक्षर गरी रु १० लाखको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेदिनी न्यौपाने र सो विद्यालयका प्रअ गेहनाथ लामिछानेलाई हस्तान्तरण गर्नु भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा वडा अध्यक्ष कृष्णप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष खरेलले यस आधारभूत विद्यालयमा वडाकार्यालयको अनुदानमा अंग्रेजी माध्यमबाट अध्यापन गराई रहेको बताउनु भयो । उहाँले लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीहरुले माविका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने हैसियतका भएको बताउनुभयो । वडा अध्यक्ष खरेलले मानवता हराउँदै गएको बेला आर्थिक अभावमा पढाईबाट बञ्चित नहुन भन्ने उद्देश्यबाट आफ्नो कमाईबाट शिक्षा क्षेत्रमा सहयोग गर्ने विष्णु भेटवालजस्ता दानवीरहरु अहिले पनि भएको र यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
दाता विष्णु भेटवालले विद्यालयको शिक्षण सिकाईसँगै व्यवस्थापन पक्ष पनि राम्रो भएकोले अक्षय कोषको पूर्ण सदुपयोग हुने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक गेहनाथ लामिछानेले कार्यक्रमको औचित्य प्रस्तुत गर्नु भएको थियोभने योग गुरु विष्णु भट्टराई, समाजसेवी केशव कार्की, घनश्याम भण्डारी, हरिराज ओझा, अनिता शिवाकोटी, माधव विद्रोहीलगायतले आ आफ्ना धारण राख्नु भएको थियो ।