बैशाख २०, २०८२ शनिबार

अर्जुनधारामा निर्माणाधिन एकिकृत विपद् व्यवस्थापन केन्द्रको भौतिक प्रगति ५० प्रतिशत

प्रदीप परियार 

बिर्तामोड । झापाको अर्जुनधारामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्तर्गत निर्माणाधिन एकिकृत विपद् व्यवस्थापन केन्द्रको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । विपद् व्यवस्थापनमा स्थानीय तहहरुबीच साझेदारी गर्ने उद्देश्यले निर्माण भइरहेको परियोजना ०८० मंसिरबाट सुरु गरिएको थियो ।

आज झापाका चार स्थानीय तहका प्रमुख उपप्रमुखले अर्जुनधारा १ मा निर्माणाधिन एकिकृत विपद् व्यवस्थापन केन्द्रको अनुगमन गरेका छन् । परियोजनाको अनुगमनका क्रममा त्यसको प्रगति बारे जानकारी गराइएको थियो ।
स्वीस सरकार, कोशी प्रदेश सरकार र झापाको बिर्तामोड, अर्जुनधारा, कनकाई, बुद्धशान्तिको लगानीमा एकिकृत विपद् व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ । कालिका जेभीले निर्माण गरिरहेको परियोजनाको आर्थिक प्रगति ४० र भौतिक प्रगति ५० प्रतिशत पुरा भएको ईन्जिनियर निता नेपालले जानकारी दिइन् । परियोजनाको लागत ५ करोड २० लाख रहेको छ ।

निर्माणाधिन परियोजना आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउने अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले जानकारी दिए । उनले चार पालिकाको केन्द्र भागमा निर्माण गरिएको परियोजनाले विपद् व्यवस्थापनमा प्रभावकारी हुने बताए ।

अनुगमनका क्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले संघीय व्यवस्थालाई अभ्यास गर्ने क्रममा प्रदेश सरकार, स्थानीय सरकार र स्वीस सरकारको साझोरीमा विपद् व्यवस्थापन केन्द्र निर्माण गरिरहेको जानकारी दिए । विपद् व्यवस्थापनका लागि एकै ठाउँबाट सेवा प्राप्त हुने उनको भनाई छ । विपद्का बेला सुरक्षाका टुकुडीसमेत बस्ने हुँदा स्थानीय तहले त्यसको लाभ लिने नगर प्रमुख पोखरेलले बताएका छन् ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले परियोजना निर्माण पश्चात सबै प्रकारका विपद् व्यवस्थापनमा सहयोग पुग्ने बताइन् । उनले परियोजना निर्माणपछि सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि बनाएर अघि बढ्ने तयारी गरिएको जानकारी दिइन् ।

बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले अन्तरपालिका समन्वय र सहकार्यको लागि परियोजना महत्वपूर्ण हुने बताएका छन् । उनले उक्त विपद् व्यवस्थापन केन्द्रबाट सबैभन्दा धेरै बुद्धशान्तिले नै लाभ लिने बताए । नमूना परियोजनामा बुद्धशान्ति गाउँपालिकाको उत्साहजनक सहभागिता रहने उनको भनाई छ ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्तर्गत कोशी प्रदेश सरकार प्रमुख साझेदार बनेको छ । एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापनाको लागि जुन २, २०२१ मा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र झापाका चार वटा स्थानीय तहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

उक्त एकिकृत विपद् व्यवस्थापन केन्द्रमा चारवटा दमकल , एउटा शववाहन र चार वटासम्म साना वाहन राख्ने सँगै वाहन मर्मत गर्ने ग्यारेज, पानी जम्मा गर्ने रिजर्भियर १, विपद् सामग्री भण्डारण गर्ने गोदाम १, प्रहरी तथा कामदार र कर्मचारीहरू बस्ने घर २, हेली प्याड् १ , प्रशासनिक भवन लगायतका पूर्वाधार निर्माण हुने छन् ।
परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, तीनवटा नगरपालिकाको २४ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको ६ प्रतिशत र लगानी रहने छ ।

अनुगमनभन्दा पहिले अर्जुनधारा नगरपालिकामा बसेको बैठकले कार्यविधि निर्माण र पालिकाको लगात सहभागिता बारे छलफल भएको थियो । कार्यविधि निर्माण अघि बढाउन अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको नेतृत्वमा अन्य पालिकाका जनप्रतिनिधि, कर्मचारीको प्रतिनिधित्व गराइने अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुलीले बताइन् । उनका अनुसार पालिकाको लागि वापत आउने रकम समेत जम्मा गर्न आग्रह गरिएको थियो ।

प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]