लुम्बिनीलाई हराउँदै विराटनरको रोमाञ्चक जित
काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ । आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई दुई विकेटले पराजित गर्दै विराटनगरले जित निकालेको हो । लुम्बिनीले दिएको १९२ रनको रक्ष्य विरानगरले एक बल बाँकी रहँदा ८ विकेटको क्षतिमा भेट्टायो ।
विराटनगरको एनपीएलमा यो पहिलो जित हो भने लुम्बिनी पहिलो खेलमा नै पराजित भएको हो ।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए । दोस्रो विकेटका लागि बम र मार्टिन गप्टिलले ६२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे । गप्टिल दुर्गेश गुप्ताको बलमा बोल्ड आउट भए ।
पहिलो ओभरको अन्तिम बलमा रामोन्स सिमोण्डसको बलमा विराटनगरका ओपनर इस्मात आलाम रनको खाता नखोल्दै आउट भए । बसिर अहमदले २३ बलमा चौका र छक्काको सहयोगमा ४० रन जोडे । बसिर दुर्गेश गुप्ताको बलमा बेन कटिङबाट क्याच आउट भए । बसिरलाई १५औं ओभरको अन्तिम बलमा १७ बलमा २८ रन बनाएको अवस्थामा साद विन जाफरको बलमा सन्दीप जोराले क्याच मिस गरेका थिए ।
राजेश पुलामीले १० बलमा ४ रन जोडे । राजेश साद विन जाफरको बलमा कट एन्ड बोल्ड भए । राजेश आउट भए लगत्तै क्रिजमा आएका निकोलस कीर्तनलाई दुर्गेशले पहिलो बलमा नै बोल्ड आउट गराए । प्रतिस जिशी ३ बलमा ६ रन बनाउँदै गुप्ताको बलमा बोल्ड आउट भए ।
क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए । लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो ।