जेष्ठ २, २०८२ बिहीबार

लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा उत्कृष्ट कृषक, गृहिणी र राष्ट्रिय प्रतिभा पुरस्कृत

झापा, २० मङ्सिरः लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज मेचीनगर नगरपालिका–१२ मा विभिन्न क्षेत्रमा योगदान पुर्याउने तीन जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा चरा संरक्षणकर्मी देवेन्द्रकुमार खरेल, उत्कृष्ट कृषकमा अनिताकुमारी कार्की र उत्कृष्ट गृहिणीका रुपमा रेणुका सङ्ग्रौला रहनुभएको छ ।

खरेलले दुई बर्ष अघि नेपालमा लोप भइसकेको चरा ‘हङरायो’ र पहिलोपल्ट ‘हरित परेवा’ फेला पार्नुभएको थियो । उहाँलाई प्रतिष्ठानले यस वर्षको लाल भागिरथा उत्कृष्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । उहाँहरुलाई नगद रु ३१ हजारसहित सम्मानपत्रले राष्ट्रिय योजना आयोगकी सदस्य गीता अधिकारीले सम्मान गर्नुभएको छ ।

प्रतिष्ठानले विगत पाँच वर्षदेखि खोज तथा अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट राष्ट्रिय प्रतिभा एक जना, कृषि क्षेत्रमा जैविक प्रविधिको सफल प्रयोग गर्ने उत्कृष्ट कृषक एक जना र परिवारमा असल संस्कारको नमुना प्रस्तुत गर्ने गृहिणी एक जनालाई बर्सेनि पुरस्कृत गर्दै आएको छ ।

उत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्ने कृषक कार्कीले परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी करेसाबारीलाई कसरी व्यावसायिक कृषिमा रुपान्तरण गर्न सकिन्छ भनेर नमुना प्रस्तुत गर्नु भएको छ । तीन दशक शिक्षण पेसा अँगालेर निवृत्त जीवनको सदुपयोग गर्दै उहाँले जैविक प्रविधि र मलखादबाट पाँच कठ्ठा करेसाबारीमा दर्जनौं प्रकारका तरकारी, फलफूल लगायतका बाली उब्जाउँदै आउनु भएको छ ।

उत्कृष्ट गृहिणी पुरस्कार पाउने चापागाई क्यान्सर संक्रमित वृद्धावस्थाका सासु दिलकुमारी चापागाई र ससुरा शिवलाल चापागाईको नियमित उपचार र हेरचाहमा समर्पित बुहारी हुनुहुन्छ । उहाँको छोरा सौरभ चापागाई समेत जन्मजात शारीरिक अशक्त हुनुहुन्छ । बिरामी सासु र ससुराको स्याहारमा ममतामयी बनेर गरेको सेवाको कदर गर्दै नमुना बुहारीको रुपमा उहाँलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष बानियाँले बताउनुभयो ।

प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार  ५ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]