पूर्व नगरप्रमुख शिवाकोटीमाथि अनुसन्धान जारी छ : झापा प्रहरी
विराटनगर । झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई आज विहान नियन्त्रणमा लिएको थियो । उनी तीन दिनदेखी प्रहरीको निगरानीमा थिए ।
प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । शिवाकोटीले पढाइदिने र घरको काममा पनि सघाउने भन्दै बालिकालाई बिर्तामोड नगरपालिका–५ स्थित आफ्नै घरमा राखेका थिए ।
उनी कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको माइती नेपालको सहयोगमा प्रहरीले उद्दार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।