दमक व्यापारिक कम्प्लेक्स तत्काल प्रयोगमा ल्याइयोस्
सम्पादकीय
झापाको दमकमा डेढ अर्वको लगानीमा निर्माण सम्पन्न भएको व्यापारिक कम्प्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । निर्माण सम्पन्न भएपछि उद्घाटन गर्नु स्वभाविक छ । उद्घाटनपछि तत्कालै प्रयोगमा लैजानुपर्छ । उद्घाटनपछि अलपत्र बनाउन हुदैन । विकासका दृष्टिले विश्वका विकसित देश विर्साउने अग्लो कम्प्लेक्स सरकारले तत्कालै प्रयोजनमा ल्याउनुपर्छ । दमकमा निर्माण सुरु भएदेखी विवाद र आलोचना भएको कम्प्लेक्स सानदार रुपमा निर्माण सम्पन्न भइसकेको छ । अहिले कम्प्लेक्स नजिकै जाँदा दुवई पुगेजस्तो अनुभूति गराउने संरचनामाथि यति धेरै आलोचना भइरहेको छ कि त्यसलाई बुझाउन अवश्य समय लाग्नेछ ।
कम्प्लेक्स बनाउनुको बदला यो गर्नु, त्यो गर्नु भन्दै सूझावहरु पनि नआएका होइनन् । कम्प्लेक्सको बदलामा २ सय नागरिकलाई रोजगारी दिने गरी उद्योग स्थापना गर्नु उचित हुन्थ्यो जस्ता विचार पनि आएका हुन् । कम्प्लेक्सलाई अनेक हिसावले उडाउने काम भइरहेको छ । त्यसको जवाफ सरकारले पूर्ण रुपमा सञ्चालन नगरेसम्म दिन सक्दैन । आज दुई सय जनालाई रोजगारी दिने उद्योग खोलेर देशको बेरोजगारी समस्या हल हुन सक्दैन । एउटा ठुलो पुल बनाएर देशको सबै समस्या समाधान पनि हुदैन । यसको आफ्नै महत्व छ । भारतले ठुला ठुला विकास गरेको छ । त्यहाँ अहिले पनि गरिवीको अवस्था दर्दनाक छ ।
कुनै एउटा कामले देशको सिंगो विकास अवरोध हुने होइन । कम्प्लेक्स बनाउदा बाँकी सबै विकास ठप्प हुने होइनन् । सरकारले विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । यसको महत्व बुझ्न समय लाग्न सक्छ । ब्रुज खलिफा, ट्वीन टावरको महत्व अहिले त्यहाँका नागरिकलाई थाहा भएको छ । संसारले ठुलो व्यापारिक कम्प्लेक्स, टावरबाट पनि आफ्नो पहिचान बनाएको छ । यसैले दमक, झापा र सिंगो नेपाललाई चिनाउन दमक व्यापारिक कम्प्लेक्स महत्वपूर्ण हुन सक्छ । त्यो संरचना सञ्चालन भएपछि हजारौंले रोजगारी पाउने छन् । अर्थतन्त्रमा योगदान हुनेछ । स्थानीय क्षेत्रको विकासमा योगदान गर्नेछ । त्यसैले अहिले नै मजाक उडाइहाल्न हतार नगरौं । त्यसको रचनात्मक प्रयोगमा सल्लाह र सूझाव दिऔं ।